सोमबार, कार्तिक १९, २०८१
17:56
|
२३:४१
नेपालमा कोरोना सङ्क्रमित ३० हजार नाघे
एकै दिन ११ को मृत्यु, आज ८३८ थप सङ्क्रमित
रासस
अगस्ट २१, २०२०
काठमाडौँ, ५ भदौ–नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । देशभर आज ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकामा ५४६ पुरुष र २४२ महिला छन् । हालसम्म १८ हजार २१४ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा २५० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । देशभर हाल १३३ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए । हाल देशभर १२ हजार १३२ जना सक्रिय सङक्रमित रहेका छन् । यस्तै १२ हजार २३४ क्वारेन्टिनमा तथा १२ हजार १३२ जना आइसोलेसनमा रहेका प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं १ को सात जिल्लामा ८९, प्रदेश नं २ को ७ जिल्लामा १७९, बागमती प्रदेशको १० जिल्लामा २५०, गण्डकी प्रदेशको ६ जिल्लामा २७, प्रदेश नं ५ को १० जिल्लामा ५९, कर्णाली प्रदेशको ४ जिल्लामा ५८ तथा सुदूरपश्चिमको ६ जिल्लामा १७६ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।
काठमाडौं उपत्यकामा थपिए १८२
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १८२ जना कोरोना सङ्क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । थपिएका मध्ये काठमाडौँका १४२, ललितपुरका २५ र भक्तपुरका १५ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार उपत्यकामा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
एकै दिन ११ को मृत्यु
कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २३ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेको सङ्ख्या यो हालसम्मकै बढी हो । मृत्यु हुनेमा काठमाडौँ, ललितपुर, चितवन, बारा, पर्सा, मोरङ, सप्तरी, सर्लाही र मकवानपुरका एक एक पुरुष तथा दोलखाकी एक महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १३७ पुगेको छ ।
पीसीआर परीक्षणमा तीन अर्ब १९ करोड
सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि हालसम्म रु तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च गरेको छ । प्रवक्ता गौतमका अनुसार देशभर ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
एक जना कोरोना पोजेटिभ पत्ता लगाउन रु एक लाख चार हजार खर्च हुने गरेको गौतमले बताए । एक जना सङ्क्रमितलाई अति सघन कक्षमा राखि उपचार गर्नुपरेमा ३० दिनमा चार लाख ५० हजार खर्च हुने गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ