शनिबार, वैशाख ८, २०८१
21:19 | ०२:०४

कुशल श्रेष्ठको निर्देशनमा सुनिताको तीज गीत ‘जुममा हेरेर’

नेपाली लिङ्क अगस्ट २१, २०२०

लन्डन । विशेषगरि हिन्दू नारीहरुको महान पर्व तीज आफैंमा एउटा इतिहास बोकेको पर्व हो । अहिलेको जस्तो भौतिक सुविधा नभएको अवस्थामा चेली माइतीबीच भेटघाट गर्ने एउटा माध्यमको रुपमा तीज अर्थात हरितालिका पर्व विकास भएको हो । तर समय र परिस्थितिले गर्दा यसपटकको तीज सबैको लागि खल्लो सावित भइदिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण साथीसंगी भेटघाट गरेर रमाइलो गर्ने चाहना केवल कल्पनामा मात्र सिमित बन्न पुग्यो । विगत वर्षहरुमा जस्तै तीजमा रमाइलो गरेर दर खाने कार्यक्रमलाई कोरोना संक्रमणले छेकेको छ ।

यो पटक बजारमा आएका तीजका सांगीतिक कोसेलीहरु पनि कोरोनासंग सम्बन्धित छन् । गीतको माध्यमबाट कोभिड संक्रमणबाट बच्न अनावश्यक घर बाहिर ननिस्कने, भिडभाड बढी नगर्ने, मास्क, सेनिटाइजर प्रयोग गर्ने जस्ता सन्देशमूलक गीतहरु बजारमा आएका छन् ।

यसैगरी बेलायत निवासी कुशल श्रेष्ठको निर्देशनमा एउटा छुट्टै खालको ‘जुममा हेरेर’ तीज गीतको म्युजिक भिडियो तयार भएको छ । गायिका सुनिता दुलालको स्वरमा रहेको यस गीतको भिडियो उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ ।

विश्वभर कोभिड १९ सन्त्रास फैलिरहेको बेला भिडभाड नगरी भर्चुअल रुपमा पनि तीजलाई मनाउन सकिने सन्देश रहेको उक्त गीत समय सापेक्ष रहेको निर्देशक श्रेष्ठले बताए । गीतमा अमेरिका निवासी रोजा ओलीको शब्द तथा सुनिल मास्केको संगीत छ ।

भगवती तिमल्सिना, काव्या श्रेष्ठ, रश्मिता दर्लामी, दिपिका श्रेष्ठ, आस्था जोशी, रोश्ना कार्की, रिमा कंडेल, स्वस्तिका लोहनी, अस्तिक कंडेल, दिपक थापा मगर लगायतको अभिनय रहेको भिडियोमा दिलु थापाको नृत्य निर्देशन छ ।

निर्देशक श्रेष्ठले बेलायतबाट चलचित्र एवं म्युजीक भिडियो गरी दुई दर्जन भिडियो निर्माण गरिसकेका छन् । भिडियो बेलायत, अमेरिका र नेपालमा छायांकन गरिएको छ ।

‘जुममा हेरेर’ गीतको म्यूजिक भिडियो-  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू