बिहीबार, वैशाख १३, २०८१
01:43 | ०६:२८

बालदिवस मनाउँदै एनआरएनए यूके

चित्रकलाको नतिजा र पुरस्कार वितरण गरिने

नेपाली लिङ्क अगस्ट १९, २०२०

लन्डन ।  गैरआवासीय नेपाली संघ यूकेले आगामी १३ सेप्टेम्बर आइतबार  विविध कार्यक्रमका साथ बाल दिवस मनाउने भएको छ ।

त्यस अवसरमा गैरआवासीय नेपाली संघ यूकेले यसअघि लकडाउनको बेला आयोजना गरेको चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक गर्ने, प्रतियोगितामा सहभागिहरुलाई प्रमाण पत्र तथा विजेताहरुलाइ पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिने संघका महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन्   

कार्यक्रममा बाल चित्रकला प्रतियोगिताका क्रममा संकलित बाल कलाकारहरुका चित्रहरुको पुस्तकाकार संगालो ‘कोपीला’ को विमोचन पनि गरिनेछ । 

 

आउंदो भाद्र  २९ अर्थात १४ सेप्टेम्बरमा  बालदिवस  पर्ने भए पनि अघिल्लो दिन १३ सेप्टेम्बर आइतबार गर्ने निर्णय गरिएको बताइएको छ । 

प्रवासमा हुर्केका नेपाली बालबालिकाहरुलाई गैर आवासीय नेपालीको रुपमा नेपालको संस्कृति, सभ्यता, र परम्परा संग साक्षात्कर   गराउने प्रयास स्वरुप कोरोना भाइरसको माहामारीका बेला लकडाउन परी स्कुल छोडेर घरमै बस्न बाध्य भएका नेपाली बालबालिकाहरुलाई  सहभागी गराई चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो । 

चित्रकला प्रतियोगिताअन्तर्गत  बालबालिकाहरुले बनाएका चित्रहरु संकलन गरी चित्रकला पुस्तिकाको  रुपमा प्रकाशन समेत गरिएको छ । पुस्तकमा नेपालको सभ्यता, संस्कृति  भेषभुषा र भुगोल झल्किने  खालका चित्रहरु प्रकाशित छन् । चित्रकला प्रतियोगिताको संयोजन एनआरएनए यूकेका उपाध्यक्ष नारायण कंडेलले गरेका हुन् ।

बालबालिकाहरुको यो विशेष दिन बालदिवसमा आयोजित यस कार्यक्रममा सहभागी भएर सामाजिक संजालमार्फत बालबालिकाहरुलाई हौसला दिएर, प्रवासमा रहेको नेपाली बाल पुस्तालाई नेपाली संघको अभियानमा सहभागी गराउन सहयोग गर्न सबैमा गैरआवासीय नेपाली संघ बेलायतले आव्हान गरेको छ ।

यसअघि भौतिक रुपमा कार्यक्रम गरेर बाल दिवस मनाउने योजना भए पनि कोरोना संक्रमणको खतरालाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट मनाउन लागिएको जानकारी एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले दिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू