शुक्रबार, वैशाख १४, २०८१
14:50 | १९:३५

सेनाको नियन्त्रणमा परेपछि मालीका राष्ट्रपतिद्वारा राजीनामा

रासस-एएनआई अगस्ट १९, २०२०


बामाको, माली । मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटाले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । 

सेनाको नियन्त्रणमा राखिएको भनिएको केही घण्टापछि बुधबार बिहान उनले राजीनामा दिएको सामाचार सार्वजनिक भएको हो ।

उनले मुलुकमा रक्तपात हुन नदिनका लागि आफूले राजीनामा दिएको बताएको अल जजिराद्वारा प्रेषित समाचारमा उल्लेख छ ।

‘आज सेनाले हस्तक्षेपको आवश्यकता रहेको निर्णय गरेछ, त्यसपछि मैले आफू शक्तिमा रहनका लागि रक्तपातपूर्ण अवस्था रोज्ने कि शक्तिमा नभए पनि शान्ति रोज्ने भन्ने विकल्प आयो, मैले शान्तिपूर्ण बाटो रोजेको छु’- उनले भनेका छन् । 

उनको वक्तव्यलाई उद्धृत गर्दै राष्ट्रिय टेलिभिजनले केयटाले पद त्यागको घोषणा गर्दै सरकार र संसद् पनि भंग गरेको समाचार प्रसारण गरेको छ ।  

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसले राष्ट्रपति इब्राहिमलाई तत्काल सैन्य नियन्त्रणबाट मुक्त गर्न माग गरेका थिए । विना शर्त  तत्कालै उनलाई रिहा गर्न महासचिव गुटेर्रेसको दबाब थियो । 

उनले  राष्ट्रपति सँगसगै सैन्य नियन्त्रणमा परेका मालीका प्रधानमन्त्री बौबौ किसलाई पनि बिना शर्त र्त मुक्त गर्न माग गरेका छन् । 

अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठन र केही देशहरुले पनि मालीमा भएको सैन्य विद्रोहप्रति चिन्ता व्यक्त गर्दै संवैधानिक व्यवस्थाको पुनर्बहालीका लागि आग्रह गरेका छन् ।

मालीको सेनाले मंगलबार अबेर विद्रोह गरेर उनीहरुलाई नियन्त्रणमा लिएको हो भने राजधानीलगायतका मुख्य मुख्य ठाउँहरुमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।  

सैन्य अधिकारीहरुले राष्ट्रपति, प्रधानमन्त्रीसँगै केही मन्त्री र उच्च सरकारी अधिकारीहरुलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ ।

लामो समयदेखि सरकारले सेनाका गुनासाहरुलाई सम्बोधन नगरेका कारण सैन्य विद्रोहको अवस्था सिर्जना भएको बताइएको छ । पश्चिम अफ्रिकी देश मालिमा पछिल्लो केही समयदेखि सरकारप्रति चरम असन्तुष्टि व्यक्त गर्दै ठूल-ठूला प्रदर्शन निरन्तर भइरहेका थिए । 

धार्मिक अगुवा महमुद डिक्कोको नेतृत्वमा भएका ठूला प्रदर्शनहरूमा राष्ट्रपतिको राजीनामा माग गरिएको थियो । प्रदर्शनकारीहरुले राष्ट्रपति केयटाका कारण देशमा भ्रष्टाचार, अर्थतन्त्रको खराब व्यवस्थापन, सुरक्षा अवस्था र बढ्दो जातीय हिंसा बढीरहेको आरोप पनि लगाएका छन् । 

केयटा दोस्रो कार्यकालका लागि सन् २०१८ मा चुनावबाट मालीको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू