बुधबार, वैशाख १२, २०८१
18:15 | २३:००

बेलायतमा डिप्रेशनको लक्षण दोब्बर

महामारीपछि प्रत्येक पाँचमध्ये एक जनामा डिप्रेशनको लक्षण

नेपाली लिङ्क अगस्ट १८, २०२०

लन्डन । गत वर्षको तुलनामा बेलायतका वयस्कहरुमा डिप्रेशनको लक्षण दोब्बर बढेको राष्ट्रिय तथ्याँक विभागले जनाएको छ । कोरोना भाइरस महामारी फैलिनु अघि प्रत्येक दशमध्ये एक जनामा डिप्रेशनको लक्षण देखिएकोमा उक्त महामारीपछि प्रत्येक पाँचमध्ये एक जनामा डिप्रेशनको लक्षण देखिएको हो ।

करिब एक वर्षको अवधिमा ३ हजार ५ सय भन्दा बढी वयस्कमा गरिएको अनुसन्धानद्वारा सो कुरा पुष्टि भएको हो । अनुसन्धानमा उनीहरुलाई डिप्रेशनसंग सम्बन्धित प्रश्न सोधिएका थिए  ।

दुई हप्ता अघिका गतिविधिहरु निन्द्रा वा भोकमा परिवर्तन, आफ्नो इच्छामा परिवर्तन, मनोरन्जनको क्षेत्रमा परिवर्तन तथा ध्यान केन्द्रित गर्नमा भएका कठिनाइ लगायतबारेमा अनुसन्धान गरिएको थियो ।

उक्त अनुसन्धानका आधारमा २० प्रतिशतमा डिप्रेशनको लक्षण देखिएको पुष्टि भएको थियो जब कि गतवर्ष २०१९ मा १० प्रतिशत मात्र थियो  ।

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर एलेन फक्सले भनेका छन् ‘यो कुरा मनन गर्न आवश्यक छ कि यस अनुसन्धानले डिप्रेशनको उपचार गर्ने हैन बरु यसले दैनिक रुपमा हुने उदासिन भावना र व्यवहारलाई संकेत गर्दछ ।’

थोरै मानिसहरु अर्थात ३.५ प्रतिशतमा भने सुधारका लक्षण देखिए पनि १३ प्रतिशतमा भने मध्यमखि गम्भीर लक्षण देखिएको अनुसन्धान अवधिमा पाइएको छ ।

४० वर्ष भन्दा कम उमेरका मानिस, महिला, शारीरिक अपाङ्गता भएका  र ८ सय ५० पाउण्ड सम्मको खर्चका लागि संघर्ष गर्नेहरुमा डिप्रेशनको बढी प्रभाव देखिएको अनुसन्धानले बताएको छ ।

त्यस्तै धेरै मानिस तनाव वा चिन्ताका कारण डिप्रेशनबाट ग्रसित रहेको पाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू