बुधबार, वैशाख २६, २०८१
16:59 | २१:४४

बफादार गोर्खा यौन दुर्व्यवहारमा जेल

राई एफएनजे यूके कार्यसमितिका सहकोषाध्यक्ष

नेपाली लिङ्क अगस्ट १८, २०२०

तस्विर : स्विन्डन एड्भटाइजर

लन्डन । आफ्नै साथीकी छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलायतमा एक नेपालीलाई जेल सजाय भएको छ ।

बेलायती सेनामा सेवारत कर्पोरल विनोद राईलाई १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको मुद्धामा साढे २ वर्षको जेल सजाय भएको  हो ।  

बेलायतको नेपाली समुदायमा रोशन नामबाट चिनिदै आएका उनी नेपाल पत्रकार महासंघ ( एफएनजे )यूकेका वर्तमान   कार्यसमितिका सहकोषाध्यक्ष समेत हुन् ।  

गत वर्षको जुलाई १९ मा भएको घटनामा ब्रिस्टोल क्राउन कोर्टले गतसाता राईलाई दोषी ठहर गर्दै जेल सजाय गरेको हो ।  

सजाय सुनाउने क्रममा अदालतका न्यायधिशले अभियुक्त राईले बेलायती सेनामा एक बफादार सैनिकका रुपमा देशलाई विशिष्ट योगदान गरेको तर ‘अन्डर एज्ड्’ बालिकामाथि खराब नियत राखेर दुर्व्यवहार गरेको उल्लेख गरे ।

स्विन्डन एड्भटाइजर नामक स्थानीय मिडियाका अनुसार सन् २०१९ को जुलाई १९ मा रेल स्टेसनबाट आफ्ना छोराछोरी लिएर आउने क्रममा आफ्नै साथीकी छोरीलाई पनि लिएर आएका थिए ।  

घर आइपुगेपछि गडीको पछिल्लो  सिटमा रहेकी उनको छाती, खुट्टा लगायतका संवेदनशील अंगमा समेत छुने, चलाउने गरेको आरोप उनीमाथि लागेको छ ।  

सेनामा रहँदा राम्रो आचरणको रेकर्ड रहेका भनिएका ४४ वर्ष राईले यौन दुर्व्यवहारको मुद्धामा  दोषी ठहर भएर जेल सजाय पाएपछि बेलायती सेनाको जागिर गुमाएका छन् ।  उनले बेलायतको आवासीय अधिकार समेत गुमाउने सम्भावना रहेको स्विन्डन एडभटाइजरले जनाएको छ ।  

संस्थामा दुई कार्यकालसम्म सहकोषाध्यक्ष रहेका राई यौन दुर्व्यवहारमा मुछिएर जेल सजाय भएकोप्रति एफएनजे यूकेले भने आधिकारिक प्रतिक्रिया दिइसकेको छैन ।  

नेपाली लिंकको जिज्ञासामा महासचिव सञ्जय कंडेलले  भने, ‘हामीले जे सुनेका छौं, त्यो विषयलाई निकै गम्भिरतापूर्वक लिएका छौं । समाचारमा आएको तस्विर मिलेपनि नाम फरक रहेकाले दुवै नाम एकै व्यक्तिको हो भनेर पुष्टि गर्नको लागि यथेष्ट जानकारी लिने कोशिस गर्दैछौं । ‘ 

आफ्नो संस्थाको पदाधिकारी यौन दुराचारको मुद्धामा जेल परेको पुष्टि भएमा आवश्यक संस्थागत कारबाहीको प्रक्रिया तत्काल अघि बढाइने महासचिव कंडेलको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू