शुक्रबार, चैत १६, २०८०
21:23 | ०३:०८

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण निर्माण तयारी

सञ्चिता घिमिरे/रासस अगस्ट १६, २०२०

काठमाडौँ, ३२ साउन–मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पानी काठमाडौँ ल्याउन सुरुङमा त्रुटि सच्चाउने काम भइरहँदा दोस्रो चरणको निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको छ ।

दोस्रो चरणको निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गरिने भएको छ । सो अध्ययनका लागि सम्बन्धित पालिकाहरुले सहमति दिने बताइसकेका छन् । मेलम्चीको दोस्रो चरण याङग्री र लार्केमा परामर्शदाताले यस अघि नै अध्ययन सकेर मेलम्ची खानेपानी विकास समितिलाई प्रतिवेदन बुझाइसकेको छ । त्यसपछि आयोजना निर्माणस्थलको वातारणीय प्रभावसम्बन्धी अध्ययन गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, ‘त्यसका लागि पालिकाको सहमतिपत्र चाहिन्छ ।’

दोस्रो चरणको डिजाइन गर्ने परामर्शदाताले सन् २०१८ मा नै आफ्नो प्रतिवेदन समितिलाई बुझाएको छ । यसमा विज्ञसँग एक पटक छलफल भइएको सूचना अधिकारी पन्तले जानकारी दिए । यहाँका पालिकाले सहमति दिएपछि त्यो वातावरण प्रभाव मूल्याङ्कन वातावरण मन्त्रालय पठाइने उनको भनाइ छ । डिजाइन दुई वर्ष पहिले सकिएको भए पनि त्यतिबेला स्थानीयवासीले कतिपय माग पहिले पूरा हुनुपर्ने बताएका थिए । अहिले ती मागमध्ये कतिपय आयोजना कार्यालय र कतिपय सम्बन्धित कार्यालयबाट कार्यान्वयन गर्ने सहमति भएको छ ।

सडक निर्माण विभागले गर्ने र अरु कतिपय पूर्वाधार सम्बन्धित कार्यालयले तथा कतिपय समितिले नै गरिरहेको छ । त्योअनुसार त्यहाँका पालिका सकारात्मक रहेकाले सहमति पत्र दिने उनको भनाइ छ । उनले भने, ‘वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत हुँदा डिजाइन पनि स्वीकृत हुन्छ र ठेक्का सकिनेछ ।’

दोस्रो चरणको निर्माणका लागि अहिलेसम्म डिजाइन फाइनल भएको र त्यसको लागत पनि यकिन भइसकेको उनले बताए । सो आयोजनाको लागत झण्डै रु पाँच अर्ब लाग्ने उल्लेख छ । मेलम्चीको पहिलो चरण सम्पन्न भएपछि दोस्रो चरणमा पनि सहयोग गर्ने एशियाली विकास बैङ्कले प्रतिबद्धता जनाएको थियो । मेलम्चीबाट ५१ करोड लिटर पानी ल्याउने भन्ने पहिले भएको सहमतिमा उल्लेख छ । बैङ्कले पहिलो चरणमा गरेको प्रतिबद्धताअनुसार सहयोग गर्छ भन्ने समितिको विश्वास छ ।

पहिलो चरणको पानी काठमाडौँ आएपछि ऋण अनुदान गर्ने भनी सहमति भएको थियो । समितिले सुरुङमा भेटिएका त्रुटि सच्चाएर मेलम्ची खोलाको पानी ल्याउने तयारी गरेको छ । उनले भने, ‘अबका केही महिनामा नै त्रुटि सच्चाइएपछि सुरुङमा पानी पुनः पठाइनेछ ।’

पहिलो चरणमा मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौँ ल्याइएपछि याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७-१७ करोड लिटर पानी राजधानी ल्याउने समितिको लक्ष्य छ । मेलम्ची खोलाको मुहानस्थल अम्बाथानबाट याङग्री झण्डै आठ र लार्के दुई किमी दूरीमा रहेको छ । समितिले सुन्दरीजलमा प्रशोधन केन्द्र निर्माण गर्नेसम्मको काम गर्नेछ भने सुन्दरीजलबाट उपत्यकामा पानी वितरणको काम भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्ने जनाइएको छ ।

आयोजना यसअघि कार्यरत इटालीयन निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ । गत वर्ष असोजमा यो कम्पनीसँग सहमति भएको थियो । आयोजनास्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँले काम गर्दै आएका छन् ।

सरकारले बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिन पनि सम्झौतामा उल्लेख छ । बन्दाबन्दीको समयमा जनशक्ति र निर्माण सामग्री ल्याउन गाह्रो भएकाले काम सुस्त भए पनि अहिले पुनः काम तीव्र गतिमा भइरहेको छ । सरकारसँग भएको सहमतिअनुसार ‘डेडबस’ निर्माण आगामी पुससम्ममा सम्पन्न गर्नुपर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू