शुक्रबार, वैशाख १४, २०८१
02:10 | ०६:५५

बेलायतमा कोरोना मृतक संख्या पुनरावलोकन

मृत्यु हुनेको संख्या ५ हजार कम बनाइयो

नेपाली लिङ्क अगस्ट १३, २०२०

लन्डन । बेलायत सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको गणना संख्यालाई नयाँ मापदण्ड अनुसार  पुनरावलोकन गरेको छ ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार कम देखाइएको छ । योसँगै बेलायतमा यसअघि सार्वजनिक कोरोना संक्रमित मृतक संख्यामा १२ प्रतिशतले कमी आएको छ ।

अगष्ट १२ सम्म बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ हजार नाघेपनि नयाँ तथ्यांक अनुसार कुल ४१ हजार ३ सय २९ मात्र देखाइएको छ ।
कोभिड १९ संक्रमणबाट भएका मृत्युलाई हालको नयाँ परिभाषा बमोजिम पुनर्गणना गरिएको सरकारले उल्लेख गरेको छ । यसघि बेलायतमा कोरोना संक्रमित भएका व्यक्तिको अन्य कुनै कारणले मृत्यु भएपनि कोरोनाकै मृतकको रुपमा घोषणा गरिँदै आएको  थियो।
तर अहिले सरकारद्वारा निर्धारित नयाँ गणना नीति अनुसार २८ दिनको हदबन्दी  कायम गरिएको छ, जसले गर्दा  वास्तविक संख्या निर्धारण गर्न सजिलो हुनेछ । यसका साथै  बेलायतको गणना प्रक्रिया अन्य मुलुकसँग एकरुपता हुने बताइएको छ ।
नयाँ गणना प्रविधि अनुसार इंग्ल्याण्डमा पछिल्लो हप्ता जुलाई १८ देखि जुलाई २४ बीचमा भएको मृतक संख्यामा ७५ प्रतिशतले ह्रास आएको छ । यसबीचमा कूल ४ सय ४२ को मृत्यु भएको तथ्याँक सार्वजनिक भएपनि नयाँ मापदण्ड अनुसार यो संख्या घटेर १ सय ११ मात्र कायम भएको सरकारले बताएको छ ।

इंग्ल्याण्डका स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले कोरोना भाइरसबाट भएका मृत्युको बारेमा पुनर्विचार गर्न आग्रह गरेपछि मृतक संख्या पुनरावलोकन गरिएको हो  ।

स्कटल्याण्ड, वेल्स र नर्दर्न आएरल्याण्डमा कोरोना संक्रमण पोजिटिभ देखिएको चार हप्ताभित्रको मृत्युलाई मात्र समावेश गरिंदै आएको छ ।

तर बेलायतमा भने तेस्तो नभई मार्चमा कोरोनाबाट निको भैसकेको व्यक्ति जुलाईमा सवारी दुर्घटनामा मृत्यु भएपनि उसलाई कोरोना संक्रमणबाट मृत्यु भएको संख्यामा गणना गरिँदै आएको थियो ।

अब भने युकेका चारजना चीफ मेडिकल अफिसरहरुको निर्णय अनुसार कोरोना संक्रमण भएको २८ दिनभित्र भएको मृत्युको वाताविक तथ्यांकका आधारमा मृतक संख्या सार्वजनिक गरिनेछ ।

गत महिनादेखि बेलायतमा कोरोना संक्रमण र मृतक संख्यामा निकै कम हुँदै आइरहे पनि पछिल्लो समयमा कोरोना संक्रमित संख्या बढ्दै गएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न विभिन्न स्थानमा लकडाउन समेत गरिएको छ । पहिलो चरणको कोरोना संक्रमणबाट पाठ सिकेको बेलायतले कोरोना संक्रमणको दोस्रो चरणको संक्रमण नियन्त्रणका लागि विभिन्न तयारी गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू