शनिबार, वैशाख १५, २०८१
19:16 | ००:०१

११ वर्षपछि बेलायत आर्थिक मन्दीमा

अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

रासस–एपी अगस्ट १२, २०२०

लन्डन । कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । 

बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो ११ वर्षपछिको पहिलो पटक हो । 

राष्ट्रिय तथ्याँक कार्यालयले यस वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा महिनैपिच्छे २.२ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको जनाएको छ । यस्तो परिस्थितिमा बेलायतको अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको देखाएको छ । 

युरोपका अरु मुलुकहरु खासगरी जर्मनी र फ्रान्स वा संयुक्तराज्य अमेरिकाको तुलनामा बेलायतको अथतन्त्र बढी नै संकुचित भएको छ । 

तर तथ्याँक कार्यालयले लकडाउनमा सहजीकरण गर्न थालेयता जुन महिनामा अर्थतन्त्रमा निकै सुधार आएको बताएको छ । कार्यालयका अनुसार जुन महिनामा बेलायती अर्थतन्त्र ८.७ प्रतिशतले वृद्धि भएको छ । 

तथ्याँकशास्त्री जोनाथन अथोले जुनमा बेलायतका पसलहरु खुलेका, कारखानामा उत्पादन हुन थालेको तथा घर निर्माणका कार्यहरु पुनः शुरु भएको बताए । 

बेलायत सरकारले पब, रेष्टुराँहरु खोल्न थालिएपछि  अर्थतन्त्रमा व्यापक सुधार आउने जनाएको छ । बेलायती अर्थमन्त्री ॠषि सुनाकले कोरोनाभाइरसको प्रभाव अझै देखिएकाले कठिन समय अझै बाँकी रहेको बताउँदै अहिल्यै दशौं हजारले रोजगारी गुमाएका र आगामी महिनामा त्यो संख्या अझ बढ्न सक्ने बताएका छन्।

बेलायत सरकारले मजदुरको ज्याला भुक्तानीमा कम्पनीहरुलाई आर्थिक सहायता गरिरहेकाले पनि अर्थतन्त्रलाई पुनर्जीवन दिन सहज हुने बेलायती अर्थविज्ञहरुको ठम्याई छ । 

सरकारले झण्डै १२ लाख रोजगारदाताले कामबाट विदा दिएका झण्डै ९६ लाख मजदुरलाई तलबी आर्थिक सहायता दिइरहेको छ र यो सहायता अंक करिब ४४ अर्ब डलर छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू