शुक्रबार, वैशाख १४, २०८१
14:45 | १९:३०

लन्डनस्थित नेपाली दूतावासभित्रको मन्दिर, जसको छ रोचक इतिहास

मन्दिरमा पञ्चांग देवताको प्राणप्रतिष्ठा एवं स्थापना

नेपाली लिङ्क अगस्ट १०, २०२०


लन्डन । लन्डनस्थित नेपाली दूतावासको पछाडि देव्रे कुनामा सेतो ढोका भएको रातो रंगको गजुरसहित एउटा पुरानो मन्दिर छ । यस मन्दिरले २८ वसन्त पार गरिसकेको मन्दिरमा कुँदिएको ताम्रपत्रमा उल्लेख छ ।

सन् १९९२, अगष्ट ३ तारिख अर्थात वि. सं. २०४९ साल साउन १९ गते तत्कालिन राजदूत भरतकेशर सिंहले मन्दिर स्थापना गरेका हुन् । नेपाली दूतावास वरपर रहेका रसियन, इजरायली, चेक र स्लोभाक जस्ता अन्य दूतावासले खाने पिउने स्थान बनाउँदा राजदूत सिंहले त्यतिबेला मन्दिर स्थापना गर्नु नेपाली धर्म, संस्कृतिप्रति उनको मोह स्पष्ट हुन्छ ।

मन्दिरभित्र गणेश, शिव, दुर्गा विष्णु लगायत देवदेवीहरुको मूर्ति रहेको पण्डित गोविन्द नेपालले जानकारी दिए । मन्दिर हाताभित्र रहेका ति मूर्ति न त कसैले दान गरेको हो, न त कतैबाट किनेर नै ल्याइएको हो । जानकारका अनुसार, ति मूर्तिहरु चोरी गरिएको अवस्थामा फेला पारेर ब्रिटिश प्रहरीले नेपाली राजदूतावासलाई बुझाएको थियो ।

पञ्चायतकालमा नेपालबाट मूर्ति चोरी गरेर हजारौं देवीदेवताका मूर्ति विदेशमा लगेर बेचिएका थिए । चोरी गरेर ल्याउँदै गरेको अवस्थामा बेलायतको फोक्सटनमा पानीजहाजमा समातिएका ति मूर्तिहरु नेपाली भएको पत्ता लागेपछि ब्रिटिश प्रहरीले नेपाली दूतावासलाई बुझाएको बताइन्छ । तर, यसको आधिकारिक पुष्टि भने हुन बाँकी नै छ ।

यसरी प्राप्त भएका मूर्तिहरुलाई दूतावासको गोदामभित्र थन्क्याएर राखेको अवस्थामा तत्कालिन राजदूत भरतकेशर सिंहले फेला पारेपछि मन्दिर स्थापना गरि सन् १९९२ मा ति मूर्ति प्रतिस्थापन गरेका थिए । सिंहले १४ औं राजदूतको रुपमा सन् १९८८ देखि १९९२ सम्म आफ्नो कार्यभार सम्हालेका थिए ।

बेलायतका लागि नेपालबाट २० औं राजदूतको रुपमा आफ्नो कार्यभार सम्हालिरहेका राजदूत डा. दुर्गाबहादुर सुवेदीले यहि अगष्ट ३ का दिन त्यहां वैदिक सनातन विधि अनुसार पञ्चांग देवताको प्राणप्रतिष्ठा एवं स्थापना गरेका छन् । बर्माको म्यान्मारबाट ल्याइएका नवरत्न जडित ति पञ्चांग देवताहरुलाई राजदूत डा. सुवेदी एवं श्रीमती पुनमराज्यलक्ष्मी सुवेदीद्वारा पूजा अर्चना गरि प्रतिस्थापन गरिएको हो ।

बेलायतका ६ जना पण्डित निलहरि घिमिरे, दुर्गाप्रसाद पोख्रेल, गोविन्द नेपाल, नारायण पौडेल ‘गाउँले’, शेखर काफ्ले शाण्डिल्य र विनोद पन्थीद्वारा पञ्चांग देवताको प्राणप्रतिष्ठा एवं स्थापना गरिएको थियो ।

नेपाली दूतावास लन्डनका कूटनीतिज्ञहरुद्वारा गत मंगलबार वैदिक सनातन विधि अनुसार एक धार्मिक अनुष्ठान सम्पन्न गरियो । दूतावास परिसरमा अवस्थित मन्दिरमा गरिएको उक्त धार्मिक अनुष्ठान डेढ दशक यताकै सबैभन्दा ठूलो र महत्वपूर्ण भएको पण्डित नीलहरि घिमिरेको बुझाइ छ ।

राजदूतावासद्वारा आयोजित विभिन्न कार्यक्रममा त्यहाँ पुग्ने सबैको नजर त्यो मन्दिरमा पुगे पनि सायद कमैले मात्र चासो दिने गर्दछन् । पछिल्लो पुस्तामा धर्मकर्मप्रति आकर्षण ह्रास हुँदै गएको देखिन्छ । आस्था, विश्वास र केहि धार्मिक गुरुहरुको प्रवृतिले गर्दा यसो हुनु स्वभाविक पनि हो । तर आफ्नो भाषा, संस्कृति तथा भेशभूषा जस्तै धर्म पनि आफ्नो संस्कृतिको एउटा अभिन्न अंग हो । तसर्थ नेपाली भाषा, धर्म, संस्कृति र परम्परा बिर्सेर नेपाली भन्दा पक्कै पनि सार्थकता नहुन सक्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू