शनिबार, वैशाख १५, २०८१
03:45 | ०८:३०

लिलाम बढाबढमा जोआना लुम्लेसँग चिया डेटको अवसर

गोर्खा वेल्फेयर ट्रष्टलाई कोष जुटाउने अभियान

नेपाली लिङ्क अगस्ट १०, २०२०

लन्डन । प्रख्यात बेलायती अभिनेत्री जोआना लुम्लेका प्रशंसकहरुका लागि खुशीको खबर छ । उनीसँगै भेट्ने, तस्विर खिचाउने रहर हुनेहरुलाई सूवर्ण अवसर पनि ।

नेपालीहरुमाझ ‘गोर्खाली चेली’ का रुपमा समेत चिनिएकी अभिनेत्री लुम्लेसँग चिया डेटका लागि लिलाम बढाबढ हुने भएको छ ।

गोर्खा वेल्फेयर ट्रस्टका लागि कोष जुटाउने उद्धेश्यले जोआनासँगको चिया डेटलाई अक्सन (लिलाम बढाबढ) मा राखिन लागेको हो । यहि अगस्ट २४ देखि ३१ सम्म अक्सन् सञ्चालन हुनेछ ।

उक्त अक्सनमार्फत गोर्खा वेल्फेयर ट्रष्टका लागि सबैभन्दा धेरै कोष योगदान गर्नेलाई अभिनेत्री लुम्लेसँग बसेर चिया पिउने अवसर मिल्नेछ ।

विजेता दुई जनाले लन्डनको मेफेयरस्थित पांच तारे होटेल ‘द रिट्ज’ मा लुम्लेसँग भेट्न, कुरा गर्न र तस्विर खिचाउन पाउनेछन् ।

कोभिड १९ का कारण बेलायतका धेरै च्यारिटी संस्थाहरु आर्थिक रुपमा संघर्षरत रहेका बेला गोर्खा वेल्फेयर ट्रस्टले यो अक्सनबाट केही कोष जम्मा हुने आशा गरेको छ ।

गोर्खा वेल्फेयर ट्रस्टकी सह-संरक्षक समेत रहेकी अभिनेत्री लुम्लेका पिताले गोर्खा राइफल्समा सेवा गरेका थिए ।

भूतपूर्व गोर्खा र तीनका परिवारलाई बेलायतमा आवासीय अधिकार दिलाउने आन्दोलनको अग्रमोर्चामै आएर लुम्लेले सहयोग गरेकी थिइन् । त्यसयता पनि उनले विभिन्न प्लेटफर्मबाट निरन्तर रुपमा गोर्खाहरुलाई साथ र सहयोग दिँदै आएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू