मंगलबार, वैशाख ११, २०८१
08:56 | १३:४१

एनआरएनए वक्तृत्वकलामा म्यानमारकी अभिलाषा प्रथम

नेपाली लिङ्क अगस्ट ९, २०२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा म्यानमारकी अभिलाषा खतिवडाले पहिलो पुरस्कार जितेकी छन् । उनले २९ देशका ६१ प्रतियोगीलाई उछिनेर पहिलो पुरस्कार हासिल गरेकी हुन् ।

‘राष्ट्रका लागि मेरो सपना’ शीर्षकमा आइतवार आयोजित प्रतियोगितामा रसियाकी समिरा केसीले दोस्रो स्थान हासिल गरिन् । यस्तै बेलायतकी टिया आचार्यले तेस्रो स्थान प्राप्त गरिन् । चौथौं स्थान जस्मिन सायद (साउदी अरब) र सुहिम थापा (नाइजेरिया) ले प्राप्त गरे । दंग तिमिल्सिना (थाइल्याण्ड) ले सान्त्वना पाँचौ पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले साठी हजार, तेस्रो हुनेले चालिस हजार नगद र प्रमाणपत्र सहित पुरस्कार जितेका छन्  । अन्य प्रतियोगीले तीस तीस हजार नगद पुरस्कार प्राप्त गरे ।

यस्तै प्रतियोगितमा १३ वर्षभन्दा मुनीका प्रतियोगीका मध्यबाट दिव्या ढकालले लिटल मास्टरको टाइटल हासिल गरिन् । कार्यक्रममा कुन्जन बोहोराले एनआरएन राइजिङ स्टारको टाइटल प्राप्त गरे ।

‘राष्ट्रका लागि मेरो सपना’ शीर्षमा आयोजित प्रतियोगिताको उद्घाटन एनआरएनए अध्यक्ष कुमार पन्तले गरेका थिए । उनले नेपालभन्दा बाहिर ८० लाख नेपाली भएको अर्को नेपाल रहेको बताए ।

उनले गैरआवासीय नेपाली संघको अभियान देखिनै दोस्रो पुस्तालाई नेपालसंग जोड्न चाहेको वताए ।

सिर्जना पाण्डेले राष्ट्रिय गीतबाट सुरु गरेको कार्यक्रममा एनआरएनए उपाध्यक्ष सोनाम लामाले प्रतियोगिताका निर्णायक मण्डललाई स्वागत गरेका थिए भने अर्को उपाध्यक्ष रविना थापा, क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठ, कार्यक्रम संयोजक दिपक कँडेल, एसिया प्यासिफिक महिला कोअर्डिनेटर अमृता थापा, डिआरसी खगेन्द्र न्यौपाने र युवा संयोजक हिमाल गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

निर्णायक मण्डलमा प्रकाश सायमी, सन्दीप खत्री, समा थापा, सदीक्षा श्रेष्ठ तथा विशेष अतिथि भूषण दाहाल थिए । कार्यक्रम संचालन पारसमणी पोखरेलले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू