बिहीबार, वैशाख १३, २०८१
06:07 | १०:५२

लन्डनको पशुपतिनाथ मन्दिर कार्यसमितिमा ८ सदस्य मनोनित

तीजमा पूजाआजा र प्रवचन मात्रै

नेपाली लिङ्क अगस्ट ९, २०२०

लन्डन । लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको कार्यसमितिमा ८ जना सदस्य मनोनित भएका छन् ।  

मन्दिरमा भक्तालुहरुको चाप बढ्दै गएको तथा कोभिड महामारीका बेला काम गर्न सहज होस् भनेर सदस्यहरु थप गरिएको मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठीले बताइन् ।  

कार्यसमितिमा मनोनित नयाँ सदस्यहरुमा हिराप्रसाद ओझा, नारायणप्रसाद खरेल, राधा सापकाेटा, सुदेशा सिग्देल, ललिता अर्याल, सुनिता प्रधान, कल्याणी श्रेष्ठ र राधा खरेल छन् ।  

मनाेनित सदस्यहरुलाई आइतबार मन्दिरमा एक कार्यक्रमबीच  अध्यक्ष नरेन्द्र कंडेलले शपथग्रहण गराए । त्यस अवसरमा मन्दिरका मूलगुरु निलहरि घिमिरेले स्वस्तिवाचन गरेका थिए भने मन्दिर समितिका ट्रष्टी संयोजक कर्णबहादुर शाही र संस्थापक अध्यक्ष हाेम शर्माले नयाँ सदस्यहरुलाई खादा ओढाएर स्वागत गरेका थिए ।  

तीजमा पूजाआजा र प्रवचन मात्रै  

यसैबीच, पशुपतिनाथ मन्दिरले तीजको दिनमा हरेक वर्ष गर्दै आएको हरितालिका विशेष कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिने भएको छ । तर यसपटक नाचगानका कार्यक्रम नगरेर  पूजाआजा र प्रवचन मात्रै  गरिने भएको छ ।

मन्दिर समितिकी सचिव त्रिपाठीले कोरोना महामारीका कारण विगतमा जस्तो कम्युनिटी हलमा कार्यक्रम गर्न सम्भव नभएकोले मन्दिर परिसरमै कार्यक्रम आयोजना गरिने बताइन् ।  

‘बेलायत सरकारले जारी गरेको निर्देशिकाअनुसार एकपटकमा ३० जनासम्म मात्रै भेला हुन पाइने हुंदा हामीले ४ वटा फरक-फरक समयमा कार्यक्रम गर्दैछौं’, सचिव त्रिपाठीले भनिन्, ‘कार्यक्रममा सहभागी हुन ईच्छुक दिदीबहिनीहरुले अग्रीम रुपमा फेसबुक वा भाइबर ग्रुपमा अनिवार्य नाम दर्ता गर्नुपर्नेछ । उहांहरुलाई फरक-फरक समयको समूहमा बाँडेर सहभागी गराइनेछ ।’

कोभिड १९ महामारीलाई ध्यानमा राख्दै मास्क, पन्जा सहितका व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गर्न, महंगा गरगहना नलगाउन, घरबाट प्रसाद नल्याउन तथा मन्दिर अगाडिको स्विनगेट लेन लगायतका सडकमा गाडी पार्क नगर्न समेत मन्दिर व्यवस्थापन समितिले समस्त भक्तजनहरुलाई आव्हान गरेको छ ।  

तीज कार्यक्रममा सहभागी हुन फेसबुक वा भाइबर ग्रुपमा नाम दर्ता  गर्न तथा अन्य जानकारीको लागि मन्दिर समितिका अध्यक्ष नरेन्द्र कंडेल 07415102310, सचिव कल्पना त्रिपाठी 07305679721 वा मूलगुरु निलहरि घिमिरे 07838820518 लाई सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू