बिहीबार, वैशाख १३, २०८१
01:59 | ०६:४४

राष्ट्रिय जनगणनाको १२ औँ शृंखला पूर्णगणना हुने

रासस

नेपाली लिङ्क अगस्ट ६, २०२०

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औँ शृंखला  पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ ।

यस जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्यांकमा सुलभ पहुँच हुने विभागले जनाएको छ । विभागको टोलीले आज राष्ट्रिय समाचार समिति (रासस) सँग आगामी जनगणना, २०७८ को तयारी सम्बन्धमा अन्तरक्रिया गरी भएका कामकारवाहीबारे जानकारी गराएको छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणना तयारीबारे प्रस्तुतीकरण गर्दै हालसम्म संघ, प्रदेश र स्थानीय तहबाट मस्यौदा प्रश्नावलीमा सुझावहरु संकलन, तहगत समन्वय, सहकार्य र सहयोगसम्बन्धी अध्ययन प्रतिवेदन तथा प्रदेश सरकारको संलग्नतामा प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम र ७७ जिल्लामा सचेतना तथा अन्तरक्रिया भइसकेको जानकारी दिए 

केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गरिने जनगणना विसं १९६८ देखि सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षदेखि तयारी शुरु गरिएको यस गणनामा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान गरिएको छ ।

नेपालमा हालसम्म ११ जनगणना सम्पन्न भइसकेका छन् । पहिलो जनगणना विसं १९६८ चन्द्रशम्सेरका पालामा भएको थियो । पहिलो चार जनगणनाहरू विसं १९६८, १९७७, १९८७ र १९९८ मा व्यक्ति–व्यक्ति गनेर गरिएको थियो । त्यस्तै विसं २००८ मा पाँचौँ गणनाको तयारी हुँदाहुँदै राणाशासनविरुद्धको जनआन्दोलनले गर्दा गणनाको काम बीचैमा रोकिएको थियो ।

विसं २००९-११ को गणना (पाँचौँ) अन्तर्राष्ट्रिय रूपमा तुलनायोग्य थियो भने विसं २०४८ गणनामा पहिलोपटक लैङ्गिक तथा समावेशी गरिएको थियो भने विसं २०५८ मा पहिलोपटक राष्ट्रिय दिवसका रूपमा जनगणना दिवस (असार ८ गते) मनाउन थालिएको हो । विसं २०६८ मा जनगणनाको १०० वर्ष पूरा भएको छ । ११ औं जनगणनामा पशुपक्षीको समेत पूर्ण गणना गरिएको थियो भने विसं २०७८ हुने गणना संघीय संरचनामा पहिलो जनगणना हुनेछ ।

जनगणनाको संस्थागत व्यवस्था हेर्दा सबैभन्दा माथि राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्यांक विभाग, सामाजिक तथ्यांक महाशाखा, जनसंख्या शाखा, प्रदेश जनगणना कार्यालय, जिल्ला जनगणना कार्यालय, स्थानीय जनगणना कार्यालय छ । यस गणनामा नौ हजार सुपरीवेक्षक र ४३ हजार गणक रहने लामिछानेले बताए 

विभागले विभिन्न जातजाति, भाषा, धर्म, क्षेत्र, वर्ग, अपांगता, बालबालिका तथा ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक लगायत नागरिक समाजका संघसंस्था तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रियाका साथै नमूना (पाइलट) जनगणना गत असार १५ गते सम्पन्न गरिसकेको छ ।

गणनाको समयमा अधिकांश बसोबास गर्ने स्थान, छ महिना वा सोभन्दा बढी बसोबास गर्ने वा बसोबास गर्ने मनसाय राखेका व्यक्ति, यस अवधिमा घर नभएका र चलायमान व्यक्तिको गणना जनगणनाको अन्तिम दिन जहाँ भेटिन्छन् त्यहीँबाट गरिने निर्देशक लामिछानेले जानकारी दिए 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू