मंगलबार, वैशाख ११, २०८१
17:05 | २१:५०

एनआरएनए वक्तृत्वकला प्रतियोगितामा बेलायतबाट ९ वर्षीया टिया

२७ देशका ५८ जना प्रतिस्पर्धा गर्दै

नेपाली लिङ्क अगस्ट ४, २०२०

लन्डन । गैरआवासीय नेपाली संघको आयोजनामा हुने एक अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा बेलायतको तर्फबाट टिया आचार्यले प्रतिस्पर्धा गर्ने भएकी छन् । २७ देशका ५८ जना सहभागी हुने सो प्रतिस्पर्धामा बेलायतबाट सहभागी हुने ९ वर्षीया आचार्य सबैभन्दा कान्छी प्रतियोगी हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्यासिफिक क्षेत्रको युथ फोरमले आउँदो आइतबार आयोजना गर्ने विश्वव्यापी वक्तृत्वकला प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको आयोजकले बताएको छ ।

एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारशमणी पोखरेलका अनुसार १९ वर्ष मुनिका २७ देशबाट ५८ जना प्रतियोगीले सहभागिताका लागि नाम दर्ता गराएका छन् । 

‘माई ड्रिम फर नेशन’ (मेरो देशको लागि सपना) शीर्षकमा आयोजना हुने सो प्रतियोगितमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४० हजार र चौथो हुने प्रतियोगीले ३० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

प्रतियोगितमा १३ वर्षभन्दा तलको प्रतियोगीका लागि लिटिल मास्टरको टाइटल र एनआरएन राइजिङ स्टारले सम्मान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, अमेरिका, युएई र युकेका प्रतियोगी सहभागी हुने भएका छन् ।

विदेशमा हुर्किदै गरेको नयाँ पुस्तालाई एनआरएनए अभियानमार्फत् नेपालसँग जोड्न कार्यक्रम फलदायी हुने उपसंयोजक पोखरेलको विश्वास छ । 

प्रतियोगितमा सञ्चारकर्मी समा थापा, हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी र सदीक्षा श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेल निर्णयक मण्डलमा छन् । यस्तै कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछानेलाई समेत विषेश अतिथिको रुपमा आमन्त्रण गरिएको छ । 

एनआरएनए एशिया प्यासिफिक क्षेत्रको युथ फोरमका संयोजक दिपक कंडेलले प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । 

आउँदो आइतवार नेपाली समय अनुसार दिउँसो ३ बजेबाट सुरु हुने प्रतियोगितामा सहभागीलाई रिहर्सल भने शनिवार नै गराउने तयारी आयोजकको छ । 

प्रतियोगिता सफलताका लागि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट तथा वर्तमान अध्यक्ष कुमार पन्तले शुभकामना सन्देश पठाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू