शुक्रबार, चैत १६, २०८०
15:45 | २१:३०

बेलायतमा ९० मिनेटमै कोभिड परीक्षणको नतिजा

परीक्षणबाट कोभिड १९ र अन्य फ्लु जस्तो मौसमी रोग छुट्याउन सकिने विश्वास

नेपाली लिङ्क अगस्ट ४, २०२०

लन्डन । बेलायतले आगामी सातादेखि कोभिड वा फ्लु परीक्षणको नतिजा नमुना संकलन गरेको ९० मिनेटमै आउने विधि सन्चालनमा ल्याउने भएको छ । उक्त विधि अस्पताल तथा केयर होमहरुमा शुरु गरिने सरकारले जनाएको छ ।

हाल परीक्षणको एक चौथाइ नतिजा आउन २४ घण्टासम्म लाग्ने गरेको छ ।

सरकारले आगामी सातादेखि अस्पताल तथा केयर होमहरुमा झन्डै पाँच लाख रेपिड स्वाब टेस्ट (जसलाई ल्यामपोर भनिन्छ) उपलब्ध हुने जनाएको छ । यस वर्षको अन्त्यसम्म त्यस्ता किट अरु लाखौँ बनाइने योजना छ । ब्रिटिश सरकारले त्यस्तो स्वाब र डीएनए परीक्षणबाट कोभिड १९ र अन्य फ्लु जस्तो मौसमी रोग छुट्याउन सकिने विश्वास ब्यक्त गरेको छ ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यन्ककले जाडो याममा यो विधि निकै लाभदायक हुने बताएका छन्। सरकारी बिज्ञप्तिमा उनले बेलायतले सबैभन्दा ‘इनोभेटिभ’ प्रविधि प्रयोग गरी कोभिडसँग जुध्न सक्षम भएको पनि बताए ।

संकलित नमुना प्रयोगशालामा पठाइरहन नपर्ने भएकाले नतिजा छिटो आउनेछ । अहिले अस्पतालहरुमा प्राय १० मा ९ वटा टेस्टको नतिजा आउन २४ घण्टा लाग्छ । ‘ड्राइभ थ्रु’ सेन्टरमा पोस्टल किट्स वा मोबाइल युनिटमार्फत गर्दा झन् समय लाग्ने गरेको छ किनकी त्यसलाई प्रक्रियाका लागि ल्याब पठाउनुपर्ने हुन्छ ।

एनएचस हस्पिटलहरुमा सेप्टेम्बरबाट यो परीक्षणका लागि डीएनएनजले ५ हजार डीएनए मेशिन उपलब्ध गराउने छ, जसबाट आगामी महिनाहरुमा ५८ लाख परिक्षण गर्न सकिने छ । नयाँ परीक्षण ‘द्रूत’ र ‘विश्वसनीय’ रहेको कम्पनीको दावी छ ।

अहिले प्रत्येक दिन ३ लाखसम्म परिक्षण हुँदै आएको छ तर सरकारले दैनिक ५ लाख पुरयाउने लक्षय राखेको छ ।

बेलायतमा कार्यरत नेपाली डाक्टरहरूको संस्था ‘नेप्लिज डक्टर्स एसोसिएसन यूके’ का अध्यक्ष डा. रमेश खोजू नयाँ प्रविधिले छिटो र परीक्षणको दायरा बढ्ने बताउँछन् । उनका भनाइमा यो प्रविधिमा नाकबाट स्वाब वा थुकको नमुना लिई डीएनए परीक्षण गरिन्छ । संक्रमण फैलिरहेको नेपालमा यसतो विधि प्रभावकारी हुने उनले बताए । ‘तर कति खर्चिलो र एक्कुरेट रिजल्ट दिन्छ भन्ने महत्वपूर्ण कुरा हुन्छ’- उनले भने ।

आगामी साताबाट अक्सफोर्ड नानोपोरले ९० मिनेटमै नतिजा आउने ४ लाख ५० हजार ल्यामपोर स्वाब टेष्ट उपलब्ध गराउने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू