शुक्रबार, वैशाख १४, २०८१
04:03 | ०८:४८

इट आउट टु हेल्प आउट: आजदेखि बेलायतका रेष्टुरेन्टमा ५० प्रतिशत छुट

अगस्ट महिनाभर सोमबारदेखि बुधबारसम्म छुट

नेपाली लिङ्क अगस्ट ३, २०२०

लण्डन । कोभिड १९ महामारीका बेला संकटग्रस्त बनेको रेष्टुरेन्ट क्षेत्र उकास्ने उद्धेश्यले बेलायत सरकारले घोषणा गरेको ५० प्रतिशत छुट आजदेखि कार्यान्वयनमा आएको छ ।

जसअनुसार अब अगस्ट महिनाभर हरेक साता सोमबारदेखि बुधबारसम्म रेष्टुरेन्ट, पब तथा क्याफेहरुमा ‘इट इन’ गर्दा ग्राहकले ५० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

‘इट आउट टु हेल्प आउट’ नाम दिइएको यो कार्यक्रमका लागि बेलायतभरका ७२ हजार रेष्टुरेन्ट तथा क्याफेहरुले नाम दर्ता गरेका छन् । ती ठाउँहरुमा तोकिएका तीन दिनमा हरेक ग्राहकले बढीमा १० पाउण्डसम्मको छुट पाउनेछ ।

यो छुट खाना र पेय पदार्थ दुवैको लागि भएपनि अल्कोहलमा भने लागू हुनेछैन । साथै, यो सुविधा रेष्टुरेन्टमै बसेर खाने ग्राहकको लागि मात्रै हो ।

५० प्रतिशत छुटको सुविधा यो कार्यक्रमका लागि दर्ता गर्ने रेष्टुरेन्टहरमा मात्र उपलब्ध हुनेछ । बेलायतका ठूला फुड चेनहरु म्याकडोनाल्ड, नान्दोज, पिज्जा एक्सप्रेस, कोस्टा कफी लगायतले पनि ‘इट इन टु हेल्प आउट’ मा नाम दर्ता गराएका छन् ।

बेलायत सरकारले केहि साताअघि घोषणा गरेको यो छुटले मानिसहरुलाई रेष्टुरेन्टहरुमा जान प्रेरित गर्ने अपेक्षा गरिएको छ । लकडाउनका क्रममा हस्पिटालिटी क्षेत्रको झण्डै ८० प्रतिशत व्यवसाय बन्द रहँदा यस क्षेत्रका १४ लाख कामदार सरकारले तलब प्रदान गर्ने ‘फर्लो स्किम’ मा थिए ।

बेलायतमा लकडाउन खुकुलो भएर गत जुलाई ४ देखि सञ्चालनमा आएका रेष्टुरेन्ट, पबहरुले सामाजिक दूरी ‘मेन्टेन’ गर्दै आफ्ना क्षमताभन्दा कम संख्याका ग्राहक ‘सर्भ’ गरिरहेका छन् ।

अर्थमन्त्री ऋषि सुनाकले बेलायतमा रेष्टुरेन्ट क्षेत्रमा कार्यरत १८ लाख सेफ, वेटर तथा रेष्टुरेन्ट कामदारहरुको जागिर बचाउन सरकारले ल्याएको ‘इट आउट टु हेल्प आउट’ कार्यक्रमको पहिलो लक्ष्य रहेको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू