शुक्रबार, वैशाख १४, २०८१
21:19 | ०२:०४

एनआरएनए यूकेले गण्डकी प्रदेश सरकारलाई दियो अक्सिजन मेसिन

सात वटै प्रदेशका लागि २–२ थान अक्सिजन मेसिन दिइने

नेपाली लिङ्क अगस्ट २, २०२०

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले गण्डकी प्रदेश सरकारलाई अक्सिजन मेसिन (कन्सन्ट्रेटर) हस्तान्तरण गरेको छ ।

गैरआवासीय नेपाली संघ युकेका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष डमर घलेले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आइतबार मेसिन हस्तान्तरण गरेका हुन् ।

एनआरएनए युकेले कोभिड १९ विरुद्ध लड्न नेपालको सात वटै प्रदेशका लागि २–२ थान गरी १४ थान अक्सिजन मेसिन (कन्सन्ट्रेटर) प्रदान गर्दैछ । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले अब अन्य ६ वटा प्रदेशमा पनि यथाशक्य छिटो अक्सिजन मेसिन हस्तान्तरणको संयोजन गर्ने कार्य भइरहेको जानकारी दिएकी छन् ।

ती सामाग्री १३ लाख ६० हजार रुपैयां बराबरका रहेको बताइएको छ ।

मेसिन हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री गुरुङले एनआरएनए यूकेले नेपालको हरेक दुःखमा साथ दिँदै आएको स्मरण गर्दै अध्यक्ष पुनम गुरुङ लगायत सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे । ‘एनआरएनए यूके होस् वा तमुधिं यूके । ति संस्थाले नेपाल र नेपालीको दुःखमा निकै ठूलो सहयोग गरेका छन्’ उनले भने, ‘आगामी दिनमा पनि यस खालका सहयोग जारी रहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

सो अवसरमा एनआरएनए युकेका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष घलेले एनआरएनए गैरआवासीय नेपालीहरू जोड्ने विश्वकै धेरै सदस्य संख्या भएको संस्था भन्दै संघले नेपालको हरेक विपतमा सहयोग गर्दै आएको बताए । उनले यी स्वास्थ्य सामग्रीले नेपालमा कोभिड १९ विरुद्ध लड्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार नरजंग गुरुङ, सदस्य चन्द्र गुरुङ, लोक गुरुङ, भोज गुरुङ लगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू