शुक्रबार, चैत १६, २०८०
12:16 | १८:०१

नेपाली दूतावास लन्डनद्वारा कोरोना पीडितलाई सहयोग गर्नेप्रति आभार

सामूहिक पहलमा गत महिना फर्किए २ सय २९ नेपाली

नेपाली लिङ्क जुलाइ ३१, २०२०

लन्डन । कोरोना संक्रमण (कोभिड १९) बाट पीडित नेपालीहरुलाई पुरयाएको सहयोग र योगदानप्रति नेपाली राजदूतावास लण्डनले धन्यबाद ब्यक्त गरेको छ ।

दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सहयोगका लागि विशेष योगदान गर्ने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युके, आयरल्याण्ड र माल्टा, दूतावासबाट बेलायत, आयरल्याण्ड र माल्टामा गठित कोरोना प्रकोप सम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र मर्जिङ नेपसक्स लगायत सबै संघसंस्था र समाज एवं समाजसेवी, स्वयंसेवकहरुलाई धन्यबाद ज्ञापन गरेको हो ।

ति संघसंस्था र ब्यक्तिले कोरोना संक्रमणबाट पीडित संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा रहेका विद्यार्थी र वृद्धवृद्धा लगायत आपत परेका नेपालीलाई विभिन्न संघसंस्थाले प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुरयाएका थिए ।

बेलायत सरकारका सम्बन्धित निकायहरु, स्थानीय काउन्सिलहरु र गोरखा वेलफेयर ट्रस्टलगायत अन्य सम्बद्ध निकायहरु एवं आयरल्याण्ड र माल्टा सरकारका सम्बन्धित निकायहरुले पुरयाएको योगदानको पनि दूतावासले सह्राना गरेको छ ।

विभिन्न कारणले बेलायतमा आएर कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरुलाई दुईवटा चार्टर फ्लाइटबाट गत महिना नेपाल पठाइएको थियो । नेपाली राजदूतावास लन्डन र गैर आवासीय नेपाली संघको संयुक्त पहलमा जजिरा एअरलाइन्सको उडानबाट प्राथमिकताका आधारमा २ सय २९ जना नेपालीलाई स्वदेश फर्काइएको हो ।

फर्किनेहरुमा भिसा अवधि सकिएका, नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरुले नेपाल फर्किनेको सूचीमा नाम दर्ता गराएका थिए ।

शुरुमा नेपाल फर्किन धेरैले नाम दर्ता गराएपनि विभिन्न कारणले गर्दा आधाजसो भने पछि हटेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू