लण्डनस्थित ब्रिगेडियर जनरल कुमार थापाको जिम्मेवारी रत्नबहादुर गोदारलाई
सहायक रथी थापाको तीन वर्षे कार्यकाल नोभेम्बरमा सकिंदै
लण्डन । लण्डनस्थित सैनिक सहचारी ब्रिगेडियर जनरल कुमार थापाको जिम्मेवारी रत्नबहादुर गोदारले लिने भएका छन् ।
बिहीवार नेपाल सरकारले नेपाली सेनाका महासेनानीलाई विभिन्न मुलुकमा रहेका नेपाली राजदूतावासमा सहचारी र सैनिक सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेसंगै गोदार लण्डन आउने भएका हुन् ।
सहायक रथी थापाको तीन वर्षे कार्यकाल आउँदो नोभेम्बरमा सकिंदै छ । आफ्नो कार्यकौशल र मिजासिलो स्वभावका कारण थापा बेलायतको नेपाली समुदायमा प्रिय सैनिक सहचारी मानिन्छन् । विशेषगरि बेलायत-नेपाल तथा दुई देशका सैनिकबीच सम्बन्ध अभिवृद्धि, सैन्य सहयोग र प्रशिक्षण आदानप्रदान, दुई देशका वरिष्ठ सैन्य अधिकारीहरुबीचको भ्रमण समन्वयमा थापाको भूमिका उल्लेख्य छ ।
ब्रिगेडियर जनरल थापाले गत वर्ष लण्डनस्थित नेपाली दूतावासमा मनाइएको सैनिक दिवसमा पहिलोपटक बेलायती रक्षामन्त्रीदेखि ब्रिटिश आर्मीका उच्च तहका सैनिक जनरल र नेपाली समुदायलाई निम्त्याएर विशेष समारोह आयोजना गरेका थिए ।
नेपाली सैनिक प्रमुखको केही वर्षयता बेलायत भ्रमण नभएपनि गत फेब्रुअरीमा बेलायती आर्मी चिफको नेपाल भ्रमणमा थापाको समन्वयकारी भूमिका थियो ।
सैनिक सहचारीले सेनाको मात्र नभइ दुई देशको कूटनीति र सरकारहरुबीच सम्बन्ध निर्माणमा महत्वपूर्ण योगदान गर्न सक्ने धारणा थापाको छ । थापा विगत ३१ वर्षदेखि सैनिक सेवामा छन् ।
अहिले ६ देशमा मात्र सैनिक सहचारी छन् । उनीहरुले सम्बन्धित देश र नेपालबीच सम्बन्ध प्रगाढ बनाउन र कूटनीतिमा बिशेष भूमिका खेल्ने भएकोले थप देशमा समेत विस्तार गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५