शुक्रबार, वैशाख १४, २०८१
08:28 | १३:१३

बेलायती अर्थमन्त्रीको नाममा अफरसहितको मेनु

मेनुमा 'सुनाक्स स्पेशल','डिस ऋषि'

नेपाली लिङ्क जुलाइ २८, २०२०

लन्डन । कोरोना महामारीका बेला बेलायतको अर्थतन्त्र उकास्न र बेरोजगारी कम गर्न खेलेको महत्वपूर्ण भूमिकाका कारण बेलायती अर्थमन्त्री ऋषि सुनाक लोकप्रिय बनेका छन् । बेलायतवासीमाँझ उनको लोकप्रियता बढिरहंदा कतिपयले उनलाई भावी प्रधानमन्त्रीका रुपमा समेत चित्रण गर्न थालेका छन् । यही बेला सुनाकका नाममा यहाँका पब, रेष्टुरेन्टहरुमा खाद्य तथा पेय पदार्थको अफरसहितका मेनु डिस्प्ले गर्न थालिएको छ ।

मेनुको शीर्षकमा ‘सुनाक्स स्पेशल’, ‘डिस ऋषि’ जस्ता अफर ग्राहकमाझ राखिएको हो ।

कोभिड १९ महामारीका कारण यातिबेला विश्व अर्थतन्त्र तहसनहस छ । यसको प्रभाव बेलायती अर्थतन्त्रमा पनि नराम्रोसंग परेको छ । आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्न विभिन्न किसिमको राहत प्याकेज घोषणा गर्दै अर्थमन्त्री सुनाक बजेटको उचित व्यबस्थापनमा लागेका छन् ।

सुनाकले कोरोनाका कारण विश्वमा सबैभन्दा बढी मृत्यु हुने मुलुकमा तेस्रो स्थान ओगट्दै आएको बेलायतमा संचालित होटल, रेष्टुरेन्ट, पब लगायत व्यवसाय उकास्न विभिन्न किसिमका सुविधासहितको प्याकेजको घोषणा गरे, जसबाट ग्राहकलाई बाहिर गएर खाने वातावरण सृजना भयो  ।

कोभिड १९ ले प्रभाव पारेको हस्पिटालिटी (होटल तथा रेस्टुरेन्ट, पब), पर्यटन व्यवसायमा मूल्य अभिवृद्धिकर २० बाट घटाएर ५ प्रतिशतमा झार्ने घोषणा गरिएको छ । रेष्टुरेन्ट व्यापारलाई ध्यान दिँदै ग्राहकलाई अगस्ट महिनाभर ५० प्रतिशत छुट दिने घोषणा समेत अर्थमन्त्री सुनाकले घोषणा गरेका छन्  ।

उनले गरेका यस्ता राहत प्याकेजले बेलायती अर्थतन्त्रमा निकै टेवा पुग्ने व्यावसायी बताउंछन् ।

विशेषगरी हस्पिटालिटी व्यवसायमा कोरोनाको प्रत्यक्ष असर परेको छ । तर कोरोना प्रभावित क्षेत्रलाई मात्र हैन व्यक्तिगत जीवनस्तर सहज पार्न समेत अर्थमन्त्री सुनाकले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

बेलायतको अर्थतन्त्र उकास्न र बेरोजगारी कम गर्न उनले ३० अर्ब पाउन्ड बराबरको राहत प्याकेज घोषणा गरिसकेका छन् । कोरोना महामारीले थलिएको बेलायती अर्थतन्त्रलाई गतिशील बनाउन भन्दै सरकारले विभिन्न खालका विशेष प्याकेको व्यवस्था गरेको हो । गत मार्चदेखि नै बेलायत सरकारले ३ सय ५० अर्ब पाउन्ड भन्दा बढीको विभिन्न राहत प्याकेज ल्याइसकेको छ ।

अर्थमन्त्री सुनाकले घर जग्गा व्यापार, युवा रोजगारीका क्षेत्रमा पनि महत्वपूर्ण कदम चालेका छन् । लकडाउनका कारण व्यवसाय बन्द भई घरमा बसेका कर्मचारीलाई ८० प्रतिशत तलबको रुपमा दिइएको फर्लो स्किमले बेरोजगारीको समस्यामा ठूलो राहत पुगेको छ । अर्थतन्त्र उकास्न र व्यापार व्यवसायलाई टिकाएर राख्न अर्थमन्त्री सुनाकले ल्याएका आर्थिक प्याकेज निकै फलदायी हुने विज्ञले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू