शुक्रबार, वैशाख १४, २०८१
01:29 | ०६:१४

बेलायतमा बिरालोमा पनि कोरोना पोजिटिभ

सावधान रहन विज्ञको सुझाव

नेपाली लिङ्क जुलाइ २७, २०२०

लन्डन । बेलायतमा जनावरमा पनि कोरोना संक्रमण फेला परेको छ । एक बिरालोमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको बीबीसीले जनाएको छ ।

बिरालोका घर मालिकमा कोरोनाको संक्रमण देखिएको र उनीबाटै बिरालोमा सरेको हुन सक्ने बताइएको छ । अहिले दुवैमा कोरोनाको संक्रमण निको भैसकेको छ ।

वर्तमान माहामारीका कारण संक्रमण भएको हुनसक्ने विज्ञहरुले बताए पनि घरपालुवा जनावरबाट पनि संक्रमण फैलिने सम्भावनालाई भने नकार्न नसकिने उनीहरुको धारणा छ ।

बेलायतका चिफ भेटनरी अफिसर क्रिष्टिनकाले जनावरमा संक्रमण देखिएको यस्तो घटना अत्यन्त न्यून रहेको बताएका छन् । घरपालुवा जनावरबाट मानिसमा सर्ने बारेमा यकिन भैनसकेको र थप अनुसन्धान गरेर यसबारेमा जानकारी गराउने उनले बताए ।

जनावरसंग सम्पर्क गर्नु अघि र पछि निरन्तर सरसफाइमा ध्यान दिनुपर्ने पब्लिक हेल्थ इंग्ल्याण्डका निर्देशकले भनेका छन् । बिरामीको सम्पर्कमा आएपछि जनावरको भुवामा केहि समयसम्म भाइरस रहन सक्ने भएकाले विशेष सावधान अपनाउनुपर्दछ ।

यदि कसैलाई कोरोना संक्रमण भएको छ वा लक्षण देखिएका कारण सेल्फ आइसोलेसनमा बसेको छ भने घरपालुवा जनावरबाट टाढा रहन र निरन्तर सरसफाई र सावधानी अपनाउनुपर्ने ब्रिटिश भेटनरी एसोसिएशनका अध्यक्ष डेनियला डस सान्तोसले बताएका छन् ।

सम्भव भएसम्म यस्तो अवस्थामा घरपालुवा जनावरलाई घरैमा राख्नु पर्ने पनि उनले बताएका छन् । तर बिरालोलाई घरैमा थुनेर राख्न सजिलो नहुने पनि उनको धारणा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू