बिहीबार, वैशाख १३, २०८१
03:17 | ०८:०२

इंग्ल्याण्डका स्टोर, शपिङ सेन्टरमा आजदेखि ‘फेस मास्क’अनिवार्य

नियम उल्लंघन गर्नेलाई सय पाउन्ड जरिवाना

नेपाली लिङ्क जुलाइ २४, २०२०

लन्डन । इंग्ल्याण्डमा स्टोर, बैंक, सुपरमार्केट, शपिङ सेन्टर लगायत सार्वजनिक स्थलमा आजदेखि ‘फेस मास्क’ को प्रयोग अनिवार्य गरिएको छ ।

लकडाउन खुकुलो पार्दै जाने नयाँ चरणमा सरकारले फेसमास्कको नियम कार्यन्वयनमा ल्याएको हो ।  

‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले फेसमास्कको प्रयोगसम्बन्धी निर्देशिका विहीबार सार्वजनिक गरेको छ । जसअनुसार आजदेखि इंग्ल्याण्डका स्टोरहरुका साथै बैंक, हुलाक, टेकअवे, सुपरमार्केट, शपिङ सेन्टर, बस स्टप, एयरपोर्ट लगायतका सार्वजनिक स्थलमा फेसमास्क अनिवार्य गरिएको  छ ।  

सार्वजनिक यातायातमा भने केही साता अघिदेखि नै फेसमास्कको प्रयोग अनिवार्य गरिसकिएको छ ।  

नयाँ नियमनुसार तोकिएको सार्वजनिक स्थलहरुमा फेसमास्कको प्रयोग नगर्नेहरुलाई १ सय पाउन्ड जरिवाना गरिने उल्लेख छ ।तर १४ दिनभित्र बुझाउंदा ५० पाउन्ड मात्रै लाग्नेछ ।  

अनिवार्य  फेसमास्कको नियम रेष्टुरेन्ट, पब, जीम, सलून, थिएटर लगायतमा भने लागू हुने छैन । बसेर खाने, पिउने ठाउँमा फेसमास्क लगाउन अनिवार्य नगरिए पनि टेकअवे लिने ठाउँमा भने अनिवार्य बनाइएको छ ।  

बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले सरकारको आव्हानको पालना गरी कोरोना संक्रमणविरुद्धको लडाईंमा साथ दिन सर्वसाधारणलाई अपील गरेका छन् ।  

फेसमास्क प्रयोगले संक्रमित व्यक्तिबाट अन्यमा संक्रमण फैलिने जोखिम कम हुन्छ भन्ने तथ्य स्थापित भइसकेको भन्दै सरकारले फेसमास्क अनिवार्य गरेको हो ।  

११ वर्षमुनीका बालबालिका एवम् मेडिकल कारणले असमर्थ हुनेको लागि भने यो नियम अनिवार्य हुनेछैन । त्यसैगरी, सेवाग्राहीलाई अनिवार्य गरिएका स्थानमा समेत त्यहाँ कार्यरत कर्मचारीलाई भने बाध्यकारी बनाइएको छैन ।  

यसअघि स्कटल्यान्डमा पनि जुलाई १० देखि नै शप, लाइब्रेरी लगायतका स्थलमा फेसमास्क अनिवार्य बनाइएको छ । तर वेल्स र नर्दन आयरल्यान्डमा भने अझै पनि फेसमास्क अनिवार्य गरिएको छैन ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू