बुधबार, वैशाख १२, २०८१
20:24 | ०१:०९

बेलायत कोभिडको दोश्रो लहर अगावै मोटोपना घटाउने अभियानमा

दोश्रो वेभ आए १ लाख २० हजारसम्मको ज्यान जान सक्ने चेतावनी

नेपाली लिङ्क जुलाइ २३, २०२०

लन्डन । ब्रिटिश सरकारले आउंदो शरद ऋतुमा कोरोना भाइरस संक्रमणको सम्भाव्य दोश्रो लहर शुरु हुनु अघि देशभर मोटोपना घटाउने अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यसबाट टाइप २ मधुमेह जस्ता रोग नियन्त्रण गर्न सहयोग पुग्ने अधिकारीहरुको विश्वास छ ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले आफू कोरोना भाइरसबाट संक्रमित भएपछि सघन उपचार आवश्यक पर्नुको कारण आफ्नो मोटोपनालाई दोष लगाएको बताइएको थियो ।

त्यसैले पनि ब्रिटिश प्रधानमन्त्रीको कार्यालयले मोटोपना विरुद्धको लडाईं नामाकरण गरिएको अभियानमा प्रधानमन्त्री आफैंले रुचि देखाएको ठानिएको छ ।

मानिसहरुलाई तत्काल आफ्नो वजन घटाउन कसरी प्रेरित गर्ने भन्नेबारे सरकारले विशेषज्ञहरुसंग छलफल शुरु गरेको बेलायती अखबार गार्डियनले जनाएको छ ।

ब्रिटेनमा कोभिड १९ को दोश्रो वेभ आएमा १ लाख २० हजारसम्म मानिसको ज्यान जान सक्ने चेतावनी दिइएको छ। एकेडेमी अफ मेडिकल साइन्सेसद्वारा गरिएको अध्ययनको आधारमा त्यस्तो चेतावनी दिइएको हो ।

ब्रिटिश सरकारले कोभिड १९ को सम्भावित दोस्रो संक्रमण तयारीका लागि यहांको राष्ट्रिय स्वास्थ्य सेवा 
(एनएचएस) लाई ३ बिलियन पाउन्ड दिने बताइसकेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले उक्त घोषणा गरेका हुन् ।

प्रधानमन्त्री कार्यालय कस्तो अभियान ल्याउने भन्नेबारे अझै स्पष्ट छैन् । तर, सुपरमार्केटका कोरिडोरमा चकलेट र मिठाइ देखिने गरि राख्न रोक्नेबारे उसले सोचिरहेको बताइन्छ ।

बेलायत कोभिड १९ बाट प्रभावित युरोपेली मुलुकमध्ये पहिलो हो । यहां कोरोना भाइरसबाट झण्डै ४५ हजार मानिसको ज्यान गइसकेको छ । यसको सम्भाव्य कारकमा मोटोपनाको उच्च दर मानिएको छ जसले टाइप टु डाइबेटिज र उच्च रक्तचाप निम्त्याउने चिकित्सक बताउंछन् ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) संग आवद्ध कन्सल्टेन्ट डा. कमल अर्याल मोटोपनाले टाइप टु डाइबेटिज, कोरोनरी मुटुरोग, स्ट्रोक, स्तन क्यान्सर, फोक्सो र मृगौला रोग, डिप्रेसन, श्वासप्रश्वासमा समस्या, पसिना बढि आउने, घुर्ने समस्या, थकान महशुस, ढाड दुख्ने आदि समस्या ल्याउने बताउंछन् ।

नेपलिज डक्टर्स एसोसिएसन यूकेका उपाध्यक्ष अर्यालले मानिसहरुको जीवनशैली परिवर्तनका कारण मोटोपना वृद्धि र यसले विभिन्न गम्भीर रोग निम्त्याइरहेका बताए ।

मोटोपना तथा मधुमेहबाट बच्न बढि शारिरीक गतिविधि गरि सागसब्जी, फलफूल, माछा मासु, अन्न, सिमी आदि खान सिफारिस गर्दै डा. अर्याल अल्कोहल, चिनीयुक्त खाना, मिठाइ, बटर, केक, पेस्ट्री, फास्ट फुड धेरै नखान सुझाउंछन् ।

आधुनिक जीवनमा मानिसहरुले सस्तो, बढी क्यालोरी भएको खाना खाने र धेरै जसो समय अफिस डेक्स, सोफा वा मोटरमा बस्ने गर्नाले मोटोपना अनि यसबाट गम्भीर खालका स्वास्थ्य समस्या बढ्दै गएको विज्ञहरुले बताएका छन् ।

बेलायतमा मोटोपना आमसमस्याका रुपमा देखिएको छ । एक अध्ययन अनुसार, प्रत्येक ४ जना वयस्कमा एक र १० देखि ११ वर्ष उमेर समूहका प्रत्येक ५ मा एकजना  बालबालिकामा मोटोपनाको समस्या पाइएको छ ।

ब्रिटिश न्यूट्रिसन फाउण्डेशनले पछिल्ला दशकमा बेलायत लगायत अन्य देशका बालबालिका र वयस्कमा मोटोपना बढिरहेको जनाउंदै त्यो न्यून गर्न पोषणयुक्त खाना र शारिरीक अभ्यासमा बढि समय बिताउन सिफारिस गरेको छ । कतिपय देशहरुले यसको नियन्त्रणका लागि चिनीमा कर वृद्धि पनि गरेका छन् ।

द ल्यान्सेट नामक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, बितेको चार दशकमा बालबालिका र किशोरकिशोरीमा मोटोपनाको मात्रा १० गुणा अर्थात विश्वभर १२ करोड ४० लाख केटाकेटीमा यो समस्या छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू