बिहीबार, वैशाख १३, २०८१
00:38 | ०५:२३

म्याग्दीका बाढी पहिरो पीडित ५५ परिवारलाई बेलायतबाट राहत

नेपाली लिङ्क जुलाइ २०, २०२०

लण्डन । नेपाली वेलफेयर सोसाइटी युकेले म्याग्दीमा बाढीपहिरोले विस्थापित ५५ घर परिवारलाई राहत वितरण सहयोग गरेको छ ।

सोसाइटीले गत असार २५ गते शुक्रबार राती आएको पहिरोले विस्थापित भएका गण्डकी प्रदेशको म्याग्दी जिल्ला मालिका गाउँपालिका-७, दुलेओडारका ५५ घर परिवारलाई एकमहिना पुग्ने खाद्यान्न उपलब्ध गराएको हो । 

प्रतिघर ३० किलो चामल, दुई लिटर तेल, दुई पोका नुन र दुई थान साबुन बितरण गरिएको राहत बितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्कीले बताए ।

सार्कीका अनुसार म्याग्दीमा बाढी पहिरोका कारण घर पूर्णरुपमा क्षति भएका तथा जोखिमका कारण घर छाडेर विस्थापित परिवारका लागि राहत वितरण गरिएको हो ।

सोसाइटीले यस अघि लकडाउनका कारण समस्यामा परेका नेपालको १३ जिल्लाका ४८२ बिपन्न घर परिवारलाई एक महिना पुग्ने राहत वितरण गरिसकेको छ । अध्यक्ष सार्कीका अनुसार यो १४ औं राहत वितरण समेत गरी ५३७ घरधुरीलाई राहत दिइएको हो ।

राहत वितरण भइरहंदा जुममार्फत अतिथीहरुले भाषण पनि गर्न भ्याए जुन कार्यक्रम रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाईटी युकेका उपाध्यक्ष तथा एनआरएनए यूके सचिव जीत रानाभाटले सञ्चालन गरेका थिए ।

जुममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापा प्रमुख अतिथि थिए । उनले बाढी पहिरो घटनामा २८ जनाको निधन र ४ जना बेपत्ता भएको जानकारी दिँदै धेरै मानिस घरबहारविहीन भएको बेला सोसाइटीको सहयोगप्रति आभार ब्यक्त गरे ।


यस्तै रशमोर बरो काउन्सिलर तथा लेबर पार्टी सदस्य, अल्टरसर्ट युनियन युनिटीकी अध्यक्ष गेनोर अस्टिनले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने महान कार्य र कार्यक्रममा आफूलाई उपस्थित गराएकामा नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्कीलाई धन्यबाद दिइन् ।

नेपालबाट संयोजन गर्दै आएका नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका डा. बुद्धि नेपालीले सोसाइटीले गत वैशाखबाट ‘बाँचौ र बचाऊ अभियान’ उदयपुर भुल्केबाट सुरु गर्दै म्याग्दीको दुले ओडारसम्म आएर पवित्र काम गरेको स्मरण गराए ।

कार्यक्रममा कर्णाली अन्चलका पूर्व प्रशासक उत्तर टमाटा, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु लगायत सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू