बुधबार, वैशाख १२, २०८१
03:22 | ०८:०७

सीमाका सुरक्षाकर्मी त्रिपालमुनि बसेर काममा

रासस जुलाइ १६, २०२०

दार्चुला । चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा खटिएका प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् । व्यास गाउँपलिका–१ छांगरु र सीमा प्रहरी चौकी तिंकरस्थित छायालेक प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य भएका हुन् ।

सीमा प्रहरी चौकी तिंकर छायालेकमा रहेको नेपाल प्रहरीले साप्ताहिक रुपमा नेपाल चीन सीमासम्म गस्ती गर्छन् । गत जेठ महिनामै छायालेक पुगेको प्रहरीले सीमा क्षेत्रसम्म साप्ताहिक गस्ती थालेको हो ।

नेपाल चीन सीमा स्तम्भ नम्बर १ सम्म नेपाल प्रहरीको साप्ताहिक रुपमा गस्ती भइरहेको सीमा प्रहरी चौकी छायालेक तिंकरका इञ्चार्ज हरकसिंह महताले बताउनुभयो । यो क्षेत्रमा विवाद छैन । तर पनि नेपाल प्रहरीले आफ्नो गस्ती समयअनुसार गरिरहेको उनले बताए । 

छायालेकबाट तिंकर भञ्जाङमा रहेको सीमास्तम्भसम्म पुग्न ४ देखि ६ घण्टाको उकालो हिड्नुपर्छ । यहाँ पुग्न माथिल्लो बाटाबाट लेक लाग्ने गर्छ । सबै यो सीमा स्तम्भसम्म पुग्न सक्दैनन् । 

अप्ठ्यारो ठाउँ भए पनि कार्य क्षेत्रभित्रको सीमा स्तम्भ भएको कारण बेला बेलामा पुग्ने गरेको सुरक्षाकर्मी बताउँछन् । यस्तै छायालेकमा रहेको सीमा प्रहरी चौकीले रकाङ, तिंकर गाउँ, स्याङ्खोला, टाटा लगायतका क्षेत्रमा नियमित गस्ती गर्छ । अत्यधिक हावाहुरी चल्ने ठाउँ छायालेकमा उनीहरु त्रिपालले छानो छाउने तथा झ्याल ढोकामा समेत त्रिपाल राखेर रात बिताउन बाध्य छन् । सानो भवनभित्र मिलेर रात काट्नुपर्ने प्रहरीको बाध्यता छ । भवन नभएका हैनन्, तर भवनको छत राखिएको छैन । थोरै जस्तापातामा त्रिपाल राखेर बस्ने गरेको प्रहरी सुनाउँछन् । 

छायालेकका दुवै भवन बस्न लायक छैन । अहिले प्रहरीले एउटै भवनको दुई कोठामा जस्तापाता र त्रिपाल राखेर रात बिताउँछन् । विगतमा यो क्षेत्रमा रहेको प्रहरी चौकी भवनमा आगजानी भएपछि त्यसयता मर्मत सम्भार हुन नसक्दा प्रहरीले चिसो ठाउँमा त्रिपालको सहारा लिनुपरेको हो ।

‘दिनभरी हावाहुरी चल्छ’- प्रहरी चौकी इञ्चार्ज महताले भने, ‘पहिल्यैदेखि यस्तै भवनमा प्रहरी बसेका रहेछन् । यो क्षेत्रमा आगो बाल्न दाउँरा खोज्नै मुस्किल छ ।’

चिसो ठाउँमा रात बिताउने प्रहरीले जमिन भित्रको रुखका जरा खोजेर आगो बालेर रात बिताउँछन् । गाउँभन्दा झण्डै एकदेखि डेढ घण्टाको दूरीमा प्रहरी चौकी छ । गाउँसम्मै गस्ती गर्न सास्ती छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू