शनिबार, साउन १२, २०८१
02:08 | ०६:५३

प्रथम भीसी थापाको शालिक निर्माणमा संस्थागत सहयोगको लहर

जुट्यो एक लाख ५७ हजार पाउण्डको सहयोग प्रतिबद्धता

नेपाली लिङ्क जुलाइ १३, २०२०

लण्डन । बेलायतको अल्डरसटमा निर्माण हुन लागेको प्रथम भीसी कुलवीर थापाको शालिक निर्माणका लागि यहाँस्थित नेपाली संघसंस्थाहरु एकबद्ध भएर जुटेका छन् ।

शालिक निर्माणका लागि व्यक्तिगत तथा संस्थागत रुपमा आर्थिक सहयोग प्रदान हुने क्रम निरन्तर रहेको शालिक निर्माणमा सक्रिय गोर्खा मेमोरियल प्रोजेक्टले जनाएको छ ।

प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाका अनुसार गत शनिबार स्यान्डहस्र्ट नेपाली कम्युनिटी, गोर्खा जिल्ला गुरुङ समाज, मगर संघ रश्मोर शाखा, इन्टेक १९८६ लगायत संस्थाले सहयोग चेक हस्तान्तरण गरेका छन् ।

रश्मोर बरो काउन्सिलकै प्रांगणमा स्यान्डहर्स्ट नेपाली कम्युनिटीका अध्यक्ष रामकुमार लिम्बूले १ हजार ५१ पाउण्डको चेक हस्तान्तरण गरे ।

त्यसैगरी, गोर्खा जिल्ला गुरुङ समाजका तर्फबाट अध्यक्ष फडकजीत गुरुङ र महासचिव मान गुरुङले संस्थाको १ हजार १ पाउण्डको सहयोग चेक प्रदान गरे ।

मगर संघ रश्मोर शाखाको १ हजार १ सय पाउण्डको सहयोग चेक अध्यक्ष हेमा राना, कोषाध्यक्ष गणेश बुढाथोकी र सचिव वीर बलालले हस्तान्तरण गरेका थिए । इन्टेक १९८६ को तर्फबाट अध्यक्ष योगेश राईले १ हजार ९ सय ८६ पाउण्डको चेक प्रदान गरे ।

गोर्खा ममोरियल प्रोजेक्टका संयोजक मेजर खिम गौचन, ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राई, प्रोजेक्टका कोषध्यक्ष टोप पल्ली लगायतले संस्थाहरुबाट प्राप्त सहयोग चेक बुझेका थिए ।

करिब १ लाख २५ हजार पाउण्ड लगानीमा निर्माण गर्न लागिएको प्रथम भीसी थापाको शालिकका लागि १ सय २५ व्यक्ति तथा संस्थाबाट एक हजार पाउण्डका दरले सहयोग उठाउने प्रोजेक्टको योजना थियो ।

तर सहयोगका लागि ईच्छुक हुनेहरुको संख्या बढी भएपछि अब कुल १ सय ४० व्यक्ति वा संस्थाबाट सहयोग लिन लागिएको प्रवक्ता थापाले जानकारी दिए । सहयोग बढ्ने भएपछि पहिले योजना गरिएभन्दा शालिकको आकार र बेसको गुणस्तर समेत बढाइने भएको छ ।

प्रोजेक्टका कोषाध्यक्ष टोप पल्लीका अनुसार हालसम्म प्रोजेक्टका लागि सहयोगदाताबाट करिब १ लाख ५७ हजार पाउण्डको प्रतिबद्धता आइसकेको छ । प्रतिबद्धता गरिएमध्ये आइतबारसम्म झन्डै ५५ हजार पाउण्ड प्रोजेक्टको खातामा जम्मा भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू