बिहीबार, चैत १५, २०८०
09:11 | १४:५६

अर्थतन्त्र उकास्न बेलायतले ल्यायो ३० अर्ब पाउन्डको प्याकेज

नेपाली लिङ्क जुलाइ ९, २०२०

लन्डन । बेलायतका अर्थमन्त्री ऋषि सुनाकले अर्थतन्त्र उकास्न र बेरोजगारी कम गर्न बुधबार ३० अर्ब पाउन्ड बराबरको राहत प्याकेजको घोषणा गरेका छन् । कोरोना महामारीले थलिएको बेलायती अर्थतन्त्रलाई गतिशील बनाउन भन्दै सरकारले विशेष प्याकेज ल्याएको हो । गत मार्चदेखि नै बेलायत सरकारले ३ सय ५० अर्ब पाउन्ड बराबरको विभिन्न प्याकेज ल्याइसकेको छ ।

अर्थमन्त्री सुनाकले कोभिड १९ ले प्रभाव पारेको हस्पिटालिटी (उड्डयन, होटल तथा रेस्टुरेन्ट), पर्यटन व्यवसायमा मूल्य अभिवृद्धिकर २० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने घोषणा गरेका छन् । रेष्टुरेन्ट व्यापारलाई ध्यान दिँदै ग्राहकलाई अगस्ट महिनाभर ५० प्रतिशत छुट दिने घोषणा पनि अर्थमन्त्रीको छ ।

घर जग्गा व्यापारको क्षति कम गर्न ५ लाख पाउन्डसम्मका घरलाई मालपोत शुल्क (स्टयाम्प ड्युटी) मिनाहा गरिएको छ ।

यसका साथै युवा रोजगारी बढाउन २ दशमलव १ बिलियन पाउण्डको ‘किकस्टार्ट’ स्किम ल्याउने घोषणा पनि भएको छ । अर्थमन्त्री ऋषि सुनाकले बुधबार संसद्मा उक्त स्किम घोषणा गरेका हुन् ।

उक्त स्किम अहिले बेरोजगार भत्ता लिइरहेका १६ देखि २४ वर्ष उमेरभित्रका युवालाई काममा फर्काउनमा लक्षित छ । बेरोजगारी भत्ता लिइरहेका युवाका लागि सरकारले नै तलब बेहोर्ने गरी ६ महिनाको ‘वर्क प्लेसमेन्ट’ रोजगारी सिर्जना गर्ने पनि घोषणामा छ ।

लकडाउनका कारण व्यवसाय बन्द भई कामदारलाई ८० प्रतिशत तलबको रुपमा सरकारले दिएको फर्लोस्किम भने आउदो अक्टोबरदेखि बन्द गर्ने घोषणा गरिएको छ । फर्लोस्किममार्फत बेलायत सरकारले २५ अर्ब पाउन्डभन्दा बढी ज्याला तिरिसकेको छ । व्यवसायको कर कम गर्ने तथा ऋण उपलब्ध गराउने घोषणा यसअघि नै भइसकेको छ ।

बेलायत सरकारले महामारीका कारण दोश्रो विश्वयुद्धपछि सबैभन्दा बढी ऋण लिने आकलन छ । विश्वका अति विकसित देश (जी ७) मध्ये उच्च आर्थिक मन्दी बेलायतमा हुने प्रक्षेपण पनि विभिन्न अध्ययनले गरेको छ ।

बेलायत सरकारले यस्तो किसिमको सहयोग इतिहासमा नै पहिलो चोटी गरेको हो । बेलायतले खेपिरहेको आर्थिक क्षतिको मापन अगाडि सरकारले जति सहयोग गरे पनि कम हुने लन्डनस्थित अर्थ व्यवस्थापन विज्ञ विकलचन्द्र आचार्य बताउँछन् । बेलायतको तीन सय वर्षभन्दा बढीको इतिहासमा यस्तो मन्दीको अवस्था खेप्न नपरेको उल्लेख गर्दै कोरोना भाइरसले आउँदो दिनमा के कस्तो असर गर्ने हो, यसले थप अस्थिरता छाएको पनि आचार्यले बताए ।

बेलायतको प्रतिष्ठित अध्ययन निकायहरुले बेलायतको अर्थतन्त्र यस वर्ष करिब १२ प्रतिशतले कमी आउने आकलन गरिसकेका छन् । कोभिड १९ महामारीले निम्त्याएको आर्थिक मन्दीको अन्त्य हुने अहिले कुनै लक्षण देखिएको छैन । तर, बेलायत सरकारले भने अभूतपूर्व रुपले ऋण लिई राहतको कदम चालिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू