शुक्रबार, चैत १६, २०८०
23:48 | ०५:३३

सिन्धुपाल्चोकको बाढीमा २० जना बेपत्ता

रासस जुलाइ ९, २०२०

तस्विर: अनलाइनखबर

मेलम्ची । गएरातिको अविरल वर्षासँगै सिन्धुपाल्चोकका जम्बु र भोटेकोशी नदीमा आएको बाढीको कारण ठूलो धनजनको क्षति भएको छ ।

ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिए ।

घटनामा २० जना बेपत्ता तथा पाँच जना गम्भीर घाइते रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् ।

सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् । यसैगरी सो गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरी सूचना अधिकारी काफ्लेका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन् । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट राजधानी ल्याइएको छ ।

त्यसैगरी, भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको र चार जना बेपत्ता भएका छन भने दुई जना घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । बाढीले त्यहाँस्थित सानो पुलेसा (कल्भर्ट) समेत बगाएको छ ।

बाढीले धनजनको ठूलो क्षति भएपछि सभामुख अग्निप्रसाद सापकोटा पनि घटनास्थलतर्फ जाँदैछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू