बिहीबार, चैत १५, २०८०
13:18 | १९:०३

बेजिङस्टोक मल्टिकल्चरल फोरमको अध्यक्षमा निर्वाचित भए श्रेष्ठ

नेपाली लिङ्क जुलाइ ७, २०२०

लन्डन । पछिल्लो  समय नेपालीहरुले विदेशमा पनि आफ्नो प्रभावशाली उपस्थिति देखाउने क्रम बढ्दै गएको छ । व्यवसाय,  अध्ययनसंगै विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था र प्लेटफर्महरुमा  नेपालीहरु पनि नेतृत्व तहमा स्थापित भइरहेका छन्   ।

यसैक्रममा बेलायतको ‘बेजिङस्टोक मल्टिकल्चरल फोरम’ को अध्यक्षमा समाजसेवी  शिवजी श्रेष्ठ निर्वाचित भएका छन्   

फोरमका ट्रष्टीहरुको बैठकले  श्रेष्ठलाई आगामी २ वर्षे  कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।  

यसअघि लामो समय भारतीय र क्यारेबियन समुदायकै नेतृत्वमा रहेको फोरममा अफ्रिकन मुलुक नाइजेरियनमुलका अध्यक्षलाई विस्थापित गर्दै पहिलोपटक नेपाली निर्वाचित भएका हुन् । यसअघि फोरममा ट्रस्टी रहेका नवनिर्वाचित अध्यक्ष श्रेष्ठ नेपाल प्रहरीका पूर्व सिनियर अफिसर एवम् बेलायतको नेपाली समुदायका एक सक्रिय सामाजिक अभियन्ता हुन् ।  

श्रेष्ठ अध्यक्ष निर्वाचित भएको फोरममा एसिया, अफ्रिका, क्यारेबियन, युरोप लगायत १९ राष्ट्रबाट आएका आप्रवासीहरुको २७ वटा संगठन सदस्य छन् । बेजिंगस्टक डिन बरो काउन्सिल समेतको आर्थिक सहयोगमा संचालित यस फोरमको सन् १७७३ मा बनेको २ सय ४७  वर्ष पुरानो आफ्नै भवन छ । 

बेजिङस्टोक क्षेत्रको करिब २ लाख जनसंख्यामध्ये ९५ प्रतिशत बेलायती समुदायकै  बाहुल्य छ भने बाँकी ५ प्रतिशतमा अफ्रिकन, एसियन आप्रवासीहरुको बसोबास छ । 

अफ्रिकन, क्यारेबियन, एसियन तथा अन्य युरोपियन पृष्‍ठभूमिका अल्पसंख्यक समुदायलाई सरकारी स्तरमै एउटै छातामुनि संगठित गर्दै उनीहरुको भाषा, धर्म संस्कृति, सामाजिक तथा शैक्षिक गतिविधिलाई प्रोत्साहन गर्ने जिम्मेवारी फोरमको छ ।  

फोरमले सांस्कृतिक विविधतालाई संरक्षण गर्दै स्थानीय सरकारी निकायहरुसंग नेटवर्किङ गरी उनीहरुको जल्दोबल्दो समस्याहरु सम्बोधन गर्ने पहल गर्दछ । 

स्थानीय मेयर समेतको प्रत्यक्ष संलग्नता रहने यस संस्थाले प्रत्येक वर्ष संसारभरबाट आएर यस भेगमा बसोबास गर्ने सम्पूर्ण देश र समुदायको प्रतिनिधित्व रहने गरी वर्ल्ड पार्टी आयोजना गर्ने गर्छ । जसमा एकैपटक १० हजार बढीको सहभागितामा विभिन्न मुलुकका झांकी र सांस्कृतिक झलकहरुको साथै उनीहरुका विशेष परिकारको स्वाद लिन पाइन्छ । 

पहिलोपटक नेपालीलाई नेतृत्व

फोरमको अध्यक्षमा पहिलोपटक नेपाली समुदायका श्रेष्ठ निर्वाचित भएकोमा स्थानीय नेपालीहरुको संस्था बेजिङस्टक नेप्लिज कम्युनिटीले खुशी व्यक्त गरेको छ । संस्थाका अध्यक्ष ओम गुरुङ र महासचिव नवराज राईले संस्थाका सल्लाहकार समेत रहेका श्रेष्ठ उक्त अन्तर्राष्ट्रिय फोरमको अध्यक्ष निर्वाचित भएकोमा गौरव लागेको भन्दै संस्थाको तर्फबाट बधाई ज्ञापन गरेका छन् ।  

सोहि क्षेत्रमा बसोबास रहेकी एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले पनि यस्ता अन्तर्राष्ट्रिय फोरममा नेपाली नेतृत्व निर्वाचित हुनु सबै नेपालीको लागि गौरवको कुरा भएको बताइन् । 

फोरमका नवनिर्वाचित अध्यक्ष शिवजी श्रेष्ठले संसारभरबाट आएका आप्रवासीहरुको हक हितमा क्रियाशील रहंदै नेपालीको नाम उच्च राख्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू