शनिबार, वैशाख ८, २०८१
13:50 | १८:३५

कोरोनाले बेलायतमा हजारौं क्यान्सर रोगीहरु मृत्युको जोखिममा

बेलायतमा कम्तिमा ७ देखि ३५ हजारको मृत्यु हुन सक्ने

नेपाली लिङ्क जुलाइ ६, २०२०

लन्डन । कोरोना भाइरस (कोभिड १९) का कारण बेलायतमा क्यान्सर पीडितहरुको ज्यान अत्यधिक जोखिममा रहेको एक अनुसन्धानले बताएको छ ।

क्यान्सर रोगको परिक्षण तथा उपचारमा भएको ढिलाइका कारण बेलायतमा एक वर्षभित्र हजारौंले ज्यान गुमाउन सक्ने बताइएको छ ।

बेलायतमा कम्तिमा ७ देखि  ३५ हजार क्यान्सर रोगीहरुको मृत्यु हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

कोरोना संक्रमण र लकडाउनका कारण थुप्रै स्क्रिनिंग, अर्जेन्ट रेफरल तथा उपचारमा ढिलाई तथा ‘रद्द’ भएका छन् । यस्ता जटिल केसहरुलाई निरन्तरता दिन निकै ठूलो परिश्रम गरिरहेको एनएचएसले बताएको छ ।

यस सम्बन्धमा वैज्ञानिकहरुले बेलायतका विभिन्न आठ वटा अस्पतालमा अध्ययन गरेका थिए ।

क्यान्सरका लागि स्वास्थ्य सेवा अनुसन्धान केन्द्र (एचडीआर यूके) डेटा-क्यानद्वारा गरिएको अध्ययनले सम्पूर्ण सेवा सामान्य स्तरमा फर्किन निकै समय लाग्न सक्ने बताएको छ ।

सबैभन्दा नराम्रो अवस्था आएको खण्डमा एक वर्षभित्र ३५ हजार मानिसको मृत्यु हुनसक्ने बताइएको छ ।

अनुसन्धानबाट हाल प्राप्त तथ्यांक निकै चिन्ताजनक रहेको डेटा-क्यानका वैज्ञानिक प्राध्यापक मार्क ललेरले बीबीसीलाई बताएका छन् ।

कोरोनाका कारण क्यान्सर रिफरल सेवामा ४५ प्रतिशतले गिरावट आएको छ ।

क्यान्सर एनएचएस इंग्ल्याण्डका राष्ट्रिय क्लिनिकल निर्देशक पिटर जोन्सनले बीबीसीसंग भने ‘सेवालाई निरन्तरता दिन हामीले सकेसम्म द्रुत गतिमा काम गर्दैछौं, क्षमतालाई पुन: स्थापना गर्न र अन्य थप सेवा सुविधा निर्माणको लागि पनि काम भैरहेको छ ।’

विगतमा स्थगित भएका सम्पूर्ण उपचारलाई सुचारु गरेर अघि बढ्ने पनि उनले बीबीसीलाई बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू