शुक्रबार, वैशाख १४, २०८१
22:38 | ०३:२३

रोल्पाका स्थानीय तहमा हेलिप्याड निर्माण

रासस जुलाइ ६, २०२०

 

रोल्पा ।  रोल्पा जिल्लाका स्थानीय तहमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ ।  

विपद् र स्वास्थ्यसँग जोडिएका विषयका साथै सुत्केरीको आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले नसेनाले उक्त होलिप्याड निर्माण गरेको हो । 

सुनछहरी गाउँपालिकाको पोवाङ, रुण्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा सेनाको खड्गदल गण लिवाङले सो हेलिप्याड निर्माण गरेको हो । 

प्रदेश सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा निर्माण गरिएको सो हेलिप्याडमध्ये चार स्थानको जिम्मा सेनाले लिएको हो । रोल्पा नगरपालिकाको लिवाङमा निर्माण गरिएको हेलिप्याड भने नगरपालिका आफैँले निर्माण गरिरहेको छ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको आग्रहमा  सेनाले उक्त हेलिप्याड निर्माणको जिम्मा लिएको हो  । ‘विपद्सँग सम्वन्धित विषय नेपाली सेनाको पनि सरोकारको विषय भएकाले हेलिप्याड निर्माण गरेका हौँ’, खड्गदल गण रोल्पाका गणपति सुधीर केसीले भने , ‘लकडाउनको असहजताका बीच पनि निर्माण  सम्पन्न गरेका छौँ ।’

 

जिल्ला प्रशासन कार्यालयको कार्यादेशानुसार खड्गदल गण रोल्पा उक्त निर्माणमा सरिक भएको थियो । सार्वजनिक खरीद ऐनबमोजिम प्रतिहेलिप्याड रु पाँच लाखका दरले निर्माण गरिएको सेनाले जनाएको छ ।  हेलिप्याड निर्माणका लागि प्रदेश सरकारले अघिल्लो वर्ष नै बजेट विनियोजन गरे पनि विविध कारणवश निर्माण हुन सकेको थिएन । निर्माण नहुँदा अघिल्लो वर्ष बजेट फिर्ता गएपछि यस वर्ष सेनालाई निर्माणको जिम्मा दिइएको हो ।

रोल्पा नगरपालिकाले नाइट भिजन हेलिप्याड निर्माण गरेको छ । अघिल्लो वर्ष रु १५ लाख बजेट खर्चेर बनाइएको हेलिप्याड वर्षासँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याइएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । सो हेलिप्याडका लागि यस वर्ष  रु २० लाख बजेट विनियोजन गरिएको छ । 

वर्षाको मौसमसंगै   अधिकांश सडकमा आउने पहिराले ६ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी तथा विपद्मा परेकाहरुले अकालमा ज्यान गुमाउने गरेका छन् । हेलिप्याड निर्माणपछि यस्तो समस्या भोग्दै आएका रोल्पालीलाई ठूलो राहत मिल्ने नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष महेश न्यौपानेले बताए   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू