बुधबार, वैशाख १२, २०८१
07:47 | १२:३२

नेपालमा थप २ सय ९३ जनामा कोरोना संक्रमण

ढलबाट सङ्क्रमण फेला परेको प्रमाण छैनः मन्त्रालय

रासस जुलाइ ५, २०२०

काठमाण्डौ । कोभिड– १९ को सङ्क्रमण आइतबार २९३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मुलुकभरिका २५ प्रयोगशालामा गरिएको परीक्षणमा २९३ जनामा सङ्क्रमण देखिएको बताए ।

आज देखिएका सङ्क्रमणसँगै सङ्क्रमित सङ्ख्या १५ हजार ७८४ जना छन् । उनका अनुसार आज १३२ जना कोभिड–१९ सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म छ हजार ५४७ जना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ४१।५ प्रतिशत बिरामी सङ्क्रमणबाट मुक्त भएका छन् ।

आज चार हजार ७१० जनाको पिसिआर परीक्षण गरिएको छ । नौ हजार २०३ जना सङ्क्रमित आइसोलेशनमा रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।

ढलबाट सङ्क्रमण फेला परेको प्रमाण छैनः मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड– १९ को सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ ।

आज मन्त्रालयका प्रवक्ता डा गौतमले ढलको पानीमा कोभिड– १९ को भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा भाइरस सार्नसक्ने सम्भावना अध्ययनले पुष्टि नगरेको बताए । “हालै राजधानीको ढलको पानी नमूना परीक्षण गर्दा कोभिड– १९ को सङ्क्रमण देखिएको भन्ने दाबीप्रति ध्यानाकर्षण भएको छ”, उनले भने, “विश्वमा अन्यत्र भएको अध्ययनले कोभिड– १९ को सङ्क्रमित भएको अवस्थामा वा निको भएपछि पनि ढलका कोभिड– १९ को व्यक्तिको भाइरसको टुक्राटाक्री भेटिएको देखिन्छ जुन सामान्यता रोग सार्ने खालको हुँदैन ।”

ढलको पानीमा कोभिड– १९ को सङ्क्रमणको सम्भावना र अन्य सङ्क्रमण रोगका किटाणु प्रशस्त्रमात्रामा हुने हुनाले ढलको फहोर पानीको भने उचित प्रशोधन र व्यवस्थापन हुनु आवश्यक रहेको उनको भनाइ छ । मन्त्रालयका प्रवक्ता डा गौतमले ढलको पानीमा कोभिड– १९ को अंश भेटियो भन्दैमा समुदायमा सङ्क्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने बताए ।

“ढलमा हाल केकस्ता भाइरस भेटिएका हुन त्यसको आधिकारिकताको थप अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा मन्त्रालयले गर्नेछ”, उनले भने, “ढलको पानीमा भाइरस देखियो भन्दैमा कुनै पनि व्यक्ति नआत्तिन र नडराउन अनुरोध गर्दछौँ ।”

उनका अनुसार विभिन्न अध्ययन अनुसन्धानले कोभिड–१९ भाइरस सामान्य तापक्रमको पानी, क्लोरिन जस्तो जिवाणुनाशक औषधि राखिएको फोहर पानीमा वा अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने देखिएको छ ।

ढलको पानीमा आधारित इमिडोयोलोजी विधिले ढलमा रहको पानीका माध्यमबाट मानिसमा कोरोना भाइरस फैलिन्छ भन्ने विषय नभई सो पानीमा रहेको जीवाणु र विषाणुको पहिचान तथा मात्रा तय गरी त्यसका आधारमा समुदायमा सङ्क्रमणको अवस्था बुझ्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू