शुक्रबार, चैत १६, २०८०
05:29 | ११:१४

म्यानमारको खानीमा पहिरो जाँदा १ सय ६२ को मृत्यु

रासस-सिन्हवा जुलाइ ३, २०२०

याङ्गुन । म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १ सय ६२ पुगेको छ ।

म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार काचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका व्यक्तिहरु पुरिएका थिए । स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएको थियो ।

पहिरो आएको समयमा सो खानीमा ठूलो संख्याका कामदारहरुले काम गरिरहेका थिए । कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरो आएकोले उनीहरुलाई पुरेको आशंका गरिएको छ । सूचना मन्त्रालयले अहिले पनि सो क्षेत्रमा उद्धार कार्य जारी नै रहेको बताएको छ ।

उद्धारकर्मीहरुले सो स्थलमा अरु पनि व्यक्तिहरु पुरिएको हुनसक्ने जनाएका छन् । घाइते भएका ५४ जनालाई अस्पताल लगिएको छ । पहिरोमा परेर हराइरहेका व्यक्तिको संख्या खुलाइएको छैन ।

केही दिन यतादेखि सो क्षेत्रमा अविरल वर्षा भइरहेको छ । वर्षापछि आएको पहिरोमा सो गाउँका वासिन्दा पनि परेको अनुमान गरिएको छ । त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

जेडको प्रमुख स्रोत मानिने म्यानमारमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका बेला बर्षेनी दर्जनौको मृत्यु हुने गरेको छ । अधिकारीहरुले सन् २०१६ को नोभेम्बरमा पनि उक्त क्षेत्रमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको बताएका छन् । म्यान्मारका खानीमा गत वर्ष भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू