शुक्रबार, वैशाख १४, २०८१
23:15 | ०४:००

जरुरी काम भएका गैर आवासीय नेपाली अहिले पनि नेपाल जान सक्ने

निकै सकरात्मक निर्णय: एनआरएनए

नेपाली लिङ्क जुलाइ २, २०२०


लन्डन । सरकारले विदेशी राहदानीबाहक गैर आवासीय नेपालीहरुलाई नेपाल जान स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले ‘नेपाल आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकका विदेशी राहदानीबाहक सन्तान, नेपाली नागरिकको विदेशी राहदानीबाहक पति वा पत्नी र स्वदेशमा आफन्तको काजकिरिया गर्न आउनुपर्ने नेपाली मूलका विदेशी राहदानीबाहकलाई सम्बन्धित नेपाली नियोगको सिफारिसमा नेपाल आउन’ स्वीकृति दिने निर्णय गरेको हो ।

सरकारको पछिल्लो निर्णयले विदेशबाट आफन्तको काजकिरिया गर्न जानुपर्ने नेपाली मूलका विदेशी राहदानीबाहकलाई नेपाल फर्किन सजिलो हुने भएको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले बेलायतबाट आफ्न्तको काजकिरिया गर्न नेपाल जान चाहनेहरुले दूतावासमा सम्पर्क गर्न सक्ने बताए । उनले यसअघि पनि परराष्ट्र मन्त्रालयको सिफारिसमा केही अप्ठ्यारोमा परेका नेपाली मुलका विदेशी राहादनी लिएका गैर आवासीय नेपालीहरुलाई नेपाल पठाउन दूतावासले सहजीकरण गरेको जानकारी दिए ।

सरकारको पछिल्लो निर्णय निकै सकरात्मक भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले बताए । ‘कोरोना भाइरसका कारण विदेशमा कुनै पनि नेपाली अप्ठ्यारोमा पर्नु हुदैन्, उनीहरुको समस्या समाधान हुनुपर्छ भन्ने हाम्रो आग्रह थियो’, शर्माले जिकिर गरे, ‘सरकारको तर्फबाट हाम्रो आग्रह सुनुवाई भएको छ जुन स्वागत योग्य निर्णय हो । अप्ठ्यारोमा परेका नेपालीहरुलाई सम्बन्धित देशका नेपाली नियोगमा सम्पर्क राख्न अनुरोध गर्दछु ।’

त्यस्तै बैठकले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको आर्थिक वर्ष २०७६ र ७७ को लागि नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव एक, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव एक गरी दुई वटा अस्थायी दरबन्दी नवीकरण स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री डा युवराज खतिवडाले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश पहिलो संशोधन, २०७७ समेत स्वीकृत भएको समेत जानकारी दिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू