शुक्रबार, चैत १६, २०८०
00:38 | ०६:२३

वेल्स नेपाली समाजबाट तीन दर्जन विद्यार्थीलाई राहत

नेपाली लिङ्क जुलाइ २, २०२०

लण्डन । वेल्स नेपाली समाजले कोरोना महामारीका बेला अफ्ठेरोमा परेका विद्यार्थीहरुलाई सहयोग गरेको छ । 

एनआरएनए वेल्स राज्य समन्वय परिषद समेतको सहकार्यमा करिब तीन दर्जन नेपाली विद्यार्थीलाई राहत वितरण गरिएको  समाजका अध्यक्ष अमृत घलेले बताए । 

सहयोगको याचनासहित संस्थाको सम्पर्कमा आउने विद्यार्थीहरुलाई घरघरमै पुगेर आधारभूत खाद्यसामग्री प्रदान गरिएको उनले जानकारी दिए । 

अफ्ठेरोमा पर्ने विद्यार्थीहरुको लागि वेल्सवासी नेपालीहरुले सहयोगस्वरुप खाद्यान्न उपलब्ध गराएका थिए । 

यसअघि कोभिड १९ का कारण विभिन्न समस्यामा पर्ने वेल्सस्थित नेपालीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर समाजले स्थानीय अन्य संघसंस्था र सामाजिक अभियन्ताहरुसंग परामर्श लिएको थियो ।

एनआरएनए यूकेका उपाध्यक्ष रामचन्द्र पोखरेलको पहलमा वेल्स राज्य समन्वय परिषदका अध्यक्ष कृष्ण भण्डारी, रिटायर्ड मेजरहरु गुप्तमान गुरुङ र खुशीमान गुरुङ एमभिओ , कुम्रान गोर्खा कम्युनिटीका अध्यक्ष खिम क्षेत्री, बद्री लिम्बू, सिनार्थी गोर्खा नेपाली समाजका अध्यक्ष टंक राई लगायत समाजसेवीहरुको सहभागितामा छलफल गरिएको थियो । 

सोहि छलफलको सुझावअनुसार समाजले कोभिड सहयोग अभियान सञ्चालन गरेको थियो । 

आवश्यक पर्नेहरुको सहयोगको लागि घरघरमै पुगेर सहयोग बाँड्ने कार्यमा समाजका अध्यक्ष घलेसंगै उपाध्यक्ष नीरलाल मोक्तान , सचिव अमरध्वज मल्ल, कोषाध्यक्ष विभुषणमान श्रेष्ठसहितका कार्यसमितिका पदाधिकारी र स्वयमसेवकहरु खटिएका थिए ।

सम्पूर्ण सहयोगदाता, स्थानीय संघसंस्था र समाजसेवी तथा स्वयमसेवकहरुप्रति वेल्स नेपाली समाजले आभार प्रकट गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू