शनिबार, वैशाख ८, २०८१
23:32 | ०४:१७

बेलायतमा २४ घण्टामा कोरोनाले मृत्यु हुने ३६

स्कटल्याण्डमा लगातार तीन दिन शून्य मृत्यु

नेपाली लिङ्क जुन २८, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणका नयाँ केस र दैनिक रुपमा कोरोनाका कारण भइरहेका मृत्युको संख्या निरन्तर घट्दै गएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभरमा ३६ जनाले ज्यान गुमाएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार यससंगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेहरुको जम्मा संख्या ४३ हजार ५ सय ५० पुगेको छ ।

स्कटल्याण्डमा भने पछिल्लो तीन दिनसम्म लगातार रुपमा कोरोनाका कुनै मृत्यु रेकर्ड भएका छैनन् ।

स्कटल्याण्डमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या २ हजार ४ सय ८२ छ । अहिले संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका ४ सय ५२ जना मात्रै छन् ।

स्कटल्याण्डकी फर्स्ट मिनिस्टर निकोला स्टर्जनले तीन दिनसम्म कोभिडका कारण भएका कुनै मृत्यु रिपोर्ट नभएकोमा ठूलो राहत महसुस भएको बताएकी छन् ।

पछिल्लो एक दिनमा बेलायतभरमा कुल १ लाख २७ हजार ७ सय ९ वटा परीक्षण गराइएकोमा ९ सय १ जनामा संक्रमण पाइएको छ । यससंगै देशभरमा हालसम्मको कुल सक्रमित संख्या ३ लाख ११ हजार १ सय ५१ पुगेको छ ।

संक्रमण घट्दै जाँदा बेलायतमा तीन महिनादेखि लागू लकडाउन पनि क्रमश खुकुलो पार्दै लगिएको छ ।

तर विज्ञहरुले बेलायत अझै पनि जोखिममुक्त नभएको र दोस्रो ‘पीक’ को खतरा कायम रहेको बताउँदै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू