शुक्रबार, वैशाख ७, २०८१
07:42 | १२:२७

यूकेबाट दोस्रो उडानमा थप ८३ नेपाल फर्किए

२ उडानमा फर्किने जम्मा २ सय २९ जना

नेपाली लिङ्क जुन २६, २०२०

लन्डन ।  लकडाउनमा बेलायतमै रोकिएका नेपाली फर्काउन व्यवस्था गरिएको चार्टर उडानमार्फत दोस्रो लटमा  थप  ८३ जना स्वदेश फर्किएका छन्  ।

लन्डनको ग्याटविक एयरपोर्टबाट शुक्रबार दिउंसो ४ बजे जजिरा एयरको विमान क्षमताभन्दा झन्डै आधा संख्याका यात्रु  बोकेर उड्यो ।

१ सय ५८ यात्रुको क्षमता रहेपनि  नेपाल जान जरुरी रहेको भन्दै दूतावासमा नाम दर्ता गर्ने धेरैजना  पछि हटेपछि उडानमा यात्रु  संख्या न्यून भएको हो ।  

लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन, तृतीय सचिव तेजेन्द्र रेग्मी, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई, सचिव जीत रानाभाट, जजिरा एयरवेजका  लागि नेपाल एजेन्टका बेलायत प्रतिनिधी जीवन सेन लगायतले विमानस्थल पुगेर स्वदेश फर्किनेहरुको बिदाई गरेका थिए ।

यसअघि बुधबारको पहिलो उडानमा फर्किएका १ सय ४६ सहित दुई चार्टर उडानमा बेलायतबाट कुल २ सय २९ नेपाली नेपाल फर्किएका छन्   

गैरआवासीय नेपाली संघ यूके र लन्डनस्थित नेपाली  दूतावासमार्फत नेपाल फर्कन जरुरी अवस्थामा रहेको भन्दै ५ सय जनाले नाम दर्ता गरेका थिए   

नाम दर्ता गराउनेमा भिसा अवधि सकिएका , नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी,  तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरु लगायत थिए । 

लन्डन दूतावासका उपनियोग प्रमुख शरदराज आरनले नेपाल फर्किनैपर्ने अवस्थामा रहेका बेलायतस्थित नेपालीहरु  चार्टर     उडानमार्फत पठाउन सकिएकोमा खुशी व्यक्त गरेका छन् ।  शुरुमा जरूरी भन्दै नाम दर्ता गर्ने धेरैले उडान तय भएपछि नेपाल नजाने भनेको उनले सुनाए ।  अहिलेसम्म जरूरी हुने सबैले फर्किने अवसर पाएको र अब नियमित उडान सुचारु हुनुअघि थप चार्टर उडानको सम्भावना नरहेको उनले बताए ।  

बेलायतमा रोकिएका नेपाली फर्काउन पहल गरेको एनआरएनए यूके पनि दुई चार्टर विमान नेपाल उडेपछि अहिले उत्साहित छ । नेपाल फर्किनेहरुको बिदाईको लागि दुवै दिन एयरपोर्ट पुगेकी अध्यक्ष पुनम गुरुङले एनआरएनएले शुरु गरेको पहललाई लन्डन दूतावास र नेपाल सरकारको सहयोगले सार्थक बनाएको बताइन् ।  

चार्टर उडानको  लागि जजिरा एयरवेजको बेलायत प्रतिनिधीका रुपमा काम गरेका क्याट यूके अध्यक्ष जीवन सेनले पनि बेलायतमा अलपत्र नेपालीको उद्धारको  पहल र व्यवस्थापन गर्ने नेपाल सरकार, लन्डन दूतावास र एनआरएनए यूकेप्रति आभार प्रकट गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू