शनिबार, वैशाख ८, २०८१
07:26 | १२:११

बाग्लुङमा आरजीएनएसको राहत वितरण

नेपाली लिङ्क जुन २६, २०२०

लन्डन ।  साउथ इष्ट लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले बाग्लुङमा राहत वितरण गरेको छ ।  

जिल्लाको गल्कोट-३ का ५० विपन्न परिवारलाई राहतस्वरुप खाधान्न उपलब्ध गराइएको हो । नेपाली वेलफेर सोसाईटी यूकेको सहकार्यमा बिहीबार प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पोका आयो नुन प्रदान  गरिएको अध्यक्ष शर्मिला हिराचन थकालीले जानकारी गराइन् ।

आरजीएनएसका ४६ भन्दा बढी सदस्यहरुको आर्थिक सहयोगमा राहत बांडिएको हो । जुम एपमार्फत लाइभ गरिएको राहत वितरण  कार्यक्रम संस्थाका उपाध्यक्ष एवम् एनआरएनए यूके सचिव रानाभाटले सन्चालन गरेका थिए। 

त्यसअवसरमा  प्रमुख अतिथि पूर्व  शिक्षामन्त्री तथा नेकपा नेता  दिनानाथ शर्माले कोरोनाको महामारी बिरुद्धको लडाइँमा स्वदेश तथा विदेशमा  रहने  नेपाली नागरिकहरुको संगठित एकता, संयमता र सहकार्य आवश्यक रहेको बताए ।  

असहज परिस्थितिमा राहत प्रदान गरेर सस्थाले मानवीय काम गरेको भन्दै उनले कोभिड-१९ बाट विचलित नभइ बेलायतमा रहेर पनि मातृभूमि  र नागरिकप्रति  उत्तरदायी हुने सहयोगीहरुको प्रशंसा गरे ।  

त्यस अवसरमा स्थानीय  गल्कोट  नगरपालिकाकी उपमेयर रेनुका काउचा, वडा अध्यक्ष वीरजंग भन्डारीसहित स्थानीय          राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, युवा अभियन्ता लगायतले सहयोगका  लागि आभार प्रकट गरेका थिए 

कार्यक्रममा बेलायतबाट आरजीएनएसका पूर्व अध्यक्ष हरि गोविन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, उपाध्यक्ष लिलादेवी गुरुङ, सल्लाहकारहरु श्याम शेरचन, एलएन पाण्डे प, ह्यारी गुरुङ, कानुनी सल्लाहकार दिपक भट्टराई,  पुन्यप्रसाद रेग्मी लगायतले मन्तव्य आफ्नो भनाइ राखेका  थिए।

आरजीएनएसकी  अध्यक्ष शर्मिला हिराचनले राहत वितरण तथा सहयोग संकलनमा सहयोग गर्ने र कार्यक्रममा  सहभागी हुने सबैलाई धन्यवाद ज्ञापन  गरिन्    उपाध्यक्ष तथा कार्यक्रम संचालक जीत रानाभाटले आरजीएनएस तथा नेपाली वेल्फेयर  सोसाइटीले नेपाल सरकारको एक द्वार प्रणालीलाई सहयोग पुग्ने गरी स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता र रोहबरमा राहत वितरण  गरिदै आएको जनाए ।  

त्यसअघि  आरजीएनएसकी महासचिव मन्जु भन्डारी, नेपाली वेलफेयर सोसाइटी यूके अध्यक्ष धनबहादुर सार्की, डा बुद्धि नेपाली लगायतले राहत वितरण कार्यक्रमबारे जानकारी गराएका थिए ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू