बिहीबार, वैशाख १३, २०८१
10:22 | १५:०७

बेलायत बसेर नेपालमा ‘डिजिटल प्लेटफर्म’ विस्तार

नेपाली लिङ्क जुन २४, २०२०

लन्डन । इन्टरनेट र मोबाइल ‘एप्लीकेसन’ मार्फत नेपालभर सामान ढुवानी सेवा र बाटोमा सवारी साधन बिग्रिए तुरुन्त मर्मत सेवा दिने इ ट्रान्सपोर्टेसन सर्भिसले आज एक वर्ष पार गरेको छ ।

वर्ष दिनको अवधिमा आफ्नो कम्पनीसंग ४ हजार ५ सय ३६ ट्रक र १०३ निजी फ्याक्ट्री दर्ता भएका तथा नेपालका प्रमुख राजमार्गका १७३ ग्यारेज कम्पनीमा आवद्ध भएका इ-ट्रान्सपोर्टेसन सर्भिसका प्रवन्ध निर्देशक बेलायतस्थित युवा व्यवसायी सन्तोष मण्डलले जानकारी दिए । मण्डल पहिलो वर्ष ‘उपलब्धिमुलक’ रहेको बताउंछन् ।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका सदस्य मण्डल बेलायत बसेर नेपालमा डिजिटल प्लेटफर्म विस्तार 
गर्न सफल भएका छन् । ‘नेपालमा नयां प्रविधि लैजान सहज थिएन । तर, हामी सबैको साथ पाएर सफल र उत्साहित छौं’, मण्डलले भने ।

मण्डल बेलायतमा डिजिटल बिजनेस सम्बन्धि काममै छन् । उनले बेलायतमा सिकेको सीप नेपालमा पनि लैजान ‘नयां कन्सेप्ट’ लगेका थिए ।

इ ट्रान्सपोर्टेसनमा ढुवानी व्यवस्थापन र ‘भेइकल ब्रेकडाउन’ सर्भिस् गरि मुख्यत दुई सेवा छ । सन्तोषका अनुसार, इ ट्रान्सपोर्टेसन सर्भिस् डिजिटल प्लेटफर्म हो, जसले ढुवानी सेवा प्रवाह गर्नेलाई काम गर्न छिटो र सजिलो बनाउंछ । साथै ढुवानी यातायात धनीलाई आफ्नो बिजनेस व्यवस्थापनमा मद्दत गर्छ । 
’भेइकल ब्रेकडाउन’ सर्भिस अन्तर्गत मुख्य राजमार्गहरुमा कुनै पनि सवारी साधन बिग्रियो भने मर्मत गर्न उक्त कम्पनीले छिटो छरितो रुपमा ‘मेकानिक्स’ पठाएर सेवा प्रदान गर्दछ ।

सवारी मर्मतका लागि वार्षिक मेम्बरसीप प्रदान गरिने र त्यसको निश्चित चार्ज लाग्ने मण्डलले बताए । ‘थोरै रकमले मानिसहरुको यात्रामा आउन सक्ने समस्या सहजै समाधान गर्छौं हामी’- मण्डलले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू