शुक्रबार, चैत १६, २०८०
10:14 | १५:५९

बेलायतका रेष्टुरेन्ट खुल्दै, तर उत्साहित छैनन् व्यापारी

नेपाली लिङ्क जुन २३, २०२०

लन्डन । बेलायत सरकारको लकडाउन घोषणासंगै वेष्ट बाइफ्लीटस्थित न्यू हवेली रेष्टुरेन्टको ढोका नियमित ग्राहकका लागि बन्द भयो । २३ मार्चदेखि बन्द उक्त फाइन डाइन रेष्टुरेन्ट अब जुलाइ पहिलो साताबाट सुचारु हुने तयारीमा छ । सरकारले केही ‘कम्प्लाइन्स’ सहित रेष्टुरेन्ट, पब खोल्न दिने बताइसकेकाले हवेलीको ढोका पनि खुल्नेछ ।

विगत ११ वर्ष देखि सञ्चालित न्यू हवेलीका नियमित ग्राहक रेष्टुरेन्ट कहिले खुल्ला भन्ने पर्खाइमा छन् । तर, सञ्चालक सुनिलबाबु खड्कामा त्यस्तो खासै उत्साह छैन् ।

‘सरकारको गाइडलाइन्स अनुसार खोल्दा धेरै झन्झट देखिन्छ । फाइन डाइनभन्दा त बरु टेक वे पो सजिलो होला जस्तो छ’, खड्काले भने, ‘सामाजिक दुरी, ग्राहकलाई क्यूमा राख्न नपाइने, टेबलमा कटलरी राख्न नपाइने, पेपर नेपकिन, पेपर मेनु वा डिस्पोजेबल सामग्री, सेनिटाइजर व्यवस्था आदिले व्यवसाय सहज देखिन्न ।’

महामारीपछि हस्पिटालिटी क्षेत्र न्यूनतम १८ महिना देखि तीन वर्षसम्म नउकासिने विश्लेषण खड्काको छ । सरकारले संकटग्रस्त व्यवसाय बचाउन फर्लो, लोन स्किम, ग्रान्ट आदि दिएपनि दीर्घकालिन रुपमा व्यवसाय ‘सर्भाइभ’ हुन अप्ठेरो हुने देख्छन् खड्का ।

‘सरकारले साना तथा मझौला व्यवसायलाई धेरै सपोर्ट गरयो तर, बेलैमा लकडाउन नगर्दा हजारौं सर्वसाधरणले ज्यान गुमाउंदा दुःख लाग्छ’, खड्काले भने ।

लकडाउनपछि ५ हप्ता पूर्णरुपमा बन्द भएर हाल टेक वे सेवा दिइरहेको एभरेष्ट इन रेष्टुरेन्ट पनि बसेर खाने ग्राहकका लागि व्यवस्थापनमा जुटेको छ । ‘हाम्रा नियमित ग्राहकले फोन, इमेलमार्फत धेरै पर्खन सक्दैनौं भनिसकेका छन् । हामी पनि रिफर्भिस्सहित पुनः सञ्चालनको तयारीमा छौं । कर्मचारी काममा फर्किन थालेका छन्’, एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले सुनाए ।

लकडाउनका बेला निशुल्क लन्च बक्स र उही मुल्य राखेर अतिरिक्त सेवा दिएका कारण ग्राहक झन् प्रभावित भएको भण्डारी बताउंछन् । तर, सरकारी नियमले भने व्यापार साचेजस्तो नहुनेमा विश्वस्त छन् उनी । 
‘२ मिटर सामाजिक दुरी त हस्पिटालिटी क्षेत्रका लागि एकदमै अव्यवहारिक छ’, भण्डारीले भने, ‘एक मिटरमा घटाउने कुरा भइरहेकाले त्यसो हुंदा ६० प्रतिशतजति व्यापार कभर गर्ने आशा छ ।’

ग्राहक बस्ने क्षमता घट्ने र यसअघि कहिल्यै नगरेका रेष्टुरेन्टले पनि अहिले टेक वे गर्न थालेकाले व्यवसायमा मुनाफा धेरै देख्दैनन् भण्डारी । ‘परिस्थिति अनुसार अगाडि बढ्नु परयो । सायद सन् २०२० सम्म व्यवसाय संकट नै हुने देखिन्छ’, भण्डारीले भने । एभरेष्ट इनका बेलायतमा चार आउटलेट छन् ।

तीन दशक भन्दा पुरानो मुनाल तन्दुरी रेष्टुरेन्टका सञ्चालक विजय थापा पनि रेष्टुरेन्ट खोल्न आतुर छन् । थापा अहिले रेष्टुरेन्टमा क्याबिन बनाउने कार्य भइरहेको बताउंछन् । ‘हो अतिरिक्त खर्च लाग्छ । तर ग्राहकको सुरक्षा र उनीहरुमा आत्मविश्वास बढ्यो भने फेरि पनि खान आउंछन् भन्ने सोचले क्याबिन बनाउन लागेको हुं’, थापाले योजना सुनाए । आफ्नो रेष्टुरेन्टमा १५ प्रतिशत जतिमात्र सिट क्षमता घट्ने उनी बताउंछन् ।

सरकारले एक मिटर दुरी कायम गरे व्यापारमा केही हदसम्म सहयोग गर्ने नत्र गारहो पर्ने चिन्ता उनमा छ ।

कोभिड १९ महामारीले धेरै व्यवसाय अप्ठेरोमा गुज्रिरहेका नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष समेत रहेका थापाको अनुभव छ । ‘सरकारले सहयोग गरेको हो तर दीर्घकालिन रुपमा व्यवसाय फस्टाउने सम्भावना कम छ । धेरै बन्द हुने देखिएको छ’, थापाले भने ।

महामारीमा नेपाली रेष्टुरेन्टले खुवाए निशुल्क खाना

महामारीका बेला नेपाली रेष्टुरेन्टले व्यापार बन्द भएपनि स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिएका आपतकालिन सेवाका कर्मचारीलाई निशुल्क खाना खुवाएर मानवीय भावना प्रस्तुत गरेका छन् ।

फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले स्थानीय अस्पतालका स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाना वितरण गरेको छ । वर्षेनी विभिन्न च्यारिटी कार्यक्रम गर्दै आएको गोर्खा प्यालेसले महामारीको बेला अग्रमोर्चामा खटिनेहरुप्रति ऐक्यबद्धता जनाउन र हौसला बढाउने कोशिस गरेको सञ्चालक समाजसेवी सूर्य गुरुङ बताउँछन् ।

न्यू हवेलीका सञ्चालक खड्काले कि वर्कर, एनएचएस स्टाफ र ७० वर्षमाथिका वृद्धवृद्धालाई करिब ५ सय बट्टा खाना निशुल्क बांडिएको बताए । ७० वर्ष माथिका वृद्धवृद्धाका लागि घरमै खाना उपलब्ध गराएका खड्काले प्रत्येक बिहीबार एनएचएस कर्मचारी र अरु दिन रेष्टुरेन्टमै आउनेलाई निशुल्क खाना बांडेका थिए ।

‘कम्युनिटीले दिएको छ भने हामीले पनि दिनु पर्छ भन्ने मेरो मान्यता हो’, खड्काले भने ।

एभरेष्ट इनले केयर होमका वृद्धवृद्धा र कि वर्करका लागि करिब १८ सय लन्चबक्स निशुल्क वितरण 
गरिएको जनाएको छ ।

लुइसम लि हाइरोडस्थित पानस गोर्खा रेष्टुरेन्ट सञ्चालक सुजन कटुवालले लकडाउनका बेला स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई करिब ५ हजार बट्टा खाना, १५ सय पानीका बोटल, दुईवटा कमर्सियल फ्रिज, ८ हजार अल्कोहलयुक्त वाइप्स् निशुल्क प्रदान गरिएको जनाए । पानसले लुइसम अस्पतालमा कार्यरत कर्मचारीलाई इदको अवसरमा हरियो सागसब्जी समेत निशुल्क दिएको थियो ।

अल्डरसटको भेटघाट, ग्रेसटस्थित बेलीफ, डोरसेटस्थित ‘द २९०२९’ लगायत अन्य कयौं रेष्टुरेन्टले पनि किवर्करलाई निशुल्क खाना ख्वाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू