शुक्रबार, वैशाख ७, २०८१
05:47 | १०:३२

नेपाल फर्कन नाम दर्ता गरेका कयौं पछि हटे

नेपाली लिङ्क जुन २२, २०२०

लण्डन । नेपाल फर्किन जरुरी रहेको भन्दै लण्डनस्थित नेपाली दूतावासमा नाम दर्ता गरेका कयौं उडानको टुंगो लागेपछि भने पछि हटेका छन् ।

लकडाउनका कारण बेलायतमा रोकिएका नेपाली फर्काउन जुन २४ बुधबार र २६ शुक्रबार दुई चार्टर उडान तय भएपछि उनीहरुले आफ्नो योजना परिवर्तन गरेका हुन् ।

लण्डन दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार नेपाल फर्किनपर्ने अत्यावश्यक अवस्था दर्शाउँदै दूतावासमा नाम दर्ता गर्नेहरु करिब ५ सयको हाराहारीमा थिए । उनीहरुमध्ये झण्डै १ सय २५ जनाले उडानको व्यवस्था भएपछि भने नेपाल जाने योजना रद्ध गरेका छन् ।

‘उडान निश्चित नहुँदासम्म निकै जरुरी रहेको भन्दै दिनदिनै सम्पर्क गर्नुहुन्थ्यो । नेपाल जान नपाएर बर्बादै भयो भनेर आत्तिनुहुन्थ्यो । तर अहिले उडान तय भएपछि आफै पछि हट्नुभएको छ’, उपनियोग प्रमुख आरनले भने ।

पिसिआर टेस्टको झञ्झट, महंगो भाडादर लगायतका कारणले योजना परिवर्तन गरेका हुन् कि भन्ने प्रश्नमा आरन भन्छन्, ‘हामीले त्यस्तो पाएका छैनौं । रद्ध गर्नेहरु धेरैले यी कारण भन्नुभएको छैन ।’

शुरुमा आफ्नो समस्यालाई वास्तविकताभन्दा बढी नै देखाउने तर समाधानको बाटो निस्किएपछि पछि हट्ने प्रवृत्ति देखिएको उनले बताए ।

बुधबार र शुक्रबार उड्ने जजिरा एअरवेजका दुई उडानबाट ३ सय १६ यात्रु नेपाल जान पाउनेछन् । दूतावासको सूचीमा भएर पनि यी दुई उडानमा पनि नअट्ने २५/३० जना हुन सक्ने दूतावासको आँकलन छ ।

सूचीमा हुनेहरुलाई नेपाल फर्किनैपर्ने जरुरी अवस्थाका आधारमा प्राथमिकता निर्धारण गरी पठाइन लागेको बताइएको छ । तर यी दुई उडानमा पनि छुट्नेहरुका लागि फेरि तेस्रो उडानको सम्भावना तत्काल नरहेको उपनियोग प्रमुख आरनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू