शनिबार, साउन १२, २०८१
06:04 | १०:४९

जन्मदिनको सरप्राइज: जन्मथलोमा राहत वितरण

नेपाली लिङ्क जुन २०, २०२०


लण्डन । आफन्तको जन्मदिन मनाउने विभिन्न तरिका हुन्छन् । कसैले भव्य पार्टी वा घुमघाम अनि महँगो उपहार दिएर मनाउने गरेको देखिन्छ । आफ्नो प्रियजनलाई खुशी पार्न सबैले फरक फरक तरिका अपनाइरहेका हुन्छन्, जसको लागि राम्रैसंग खर्च गर्न पनि तयार हुन्छन् । बेलायतमा बस्दै आएका एक सामाजिक अभियन्ताले भने आफ्नो श्रीमतीको जन्मदिन फरक तरिकाले मनाएका छन् ।

बेलायतको बेजिङस्टकमा बस्ने नेपाल प्रहरीका पूर्व सिनियर अफिसर शिवजी श्रेष्ठले श्रीमती उर्मिला श्रेष्ठको जन्मदिनमा श्रीमतीको जन्मथलो इलाममा राहत वितरण गरेका छन् ।

कोरोनाका कारण लकडाउनमा परेर काम र मामबाट बन्चित भएका २० विपन्न परिवारलाई आधारभूत आवश्यकताका सामग्री वितरण गरिएको उनले बताएका छन् । ती परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, मरमसला, औषधि सहितको प्याकेज प्रदान गरिएको थियो ।

जन्मदिनमा सहयोग बाँड्ने योजना उनले श्रीमती उर्मिलाबाट भने गोप्य राखेका थिए । जन्मथलो इलाममा राहत पाएका व्यक्तिहरुले एकैपटक टेलिफोनमार्फत ‘ह्याप्पी बर्थ डे’ भन्दै उनलाई ‘सरप्राइज’ दिएका थिए ।

उर्मिलाकी आमा केदारकुमारी श्रेष्ठ र काकी मुना श्रेष्ठको हातबाट राहत वितरण गरिएको थियो । जसको संयोजन उनकै दाजुहरु पत्रकार महासंघ इलाम शाखाका पूर्व उपाध्यक्ष मोहनमान श्रेष्ठ र इलाम क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख डा योगेन्द्रमान श्रेष्ठ र भदा सुयोग्य श्रेष्ठले गरेका थिए । बेलायतमा नर्सका रुपमा कार्यरत उर्मिला सेवाकै क्रममा कोरोना संक्रमित भएर निको भएपछि फेरि काममा फर्किसकेको भन्दै दाजु योगेन्द्रमान श्रेष्ठले उनमा समाजसेवाप्रति निकै ठूलो लगाव रहेको बताए ।

त्यसक्रममा इलाम नगरपालिकाका मेयर महेश बस्नेत, राहत वितरणका संयोजक मोहनमान श्रेष्ठ, मनोज ताम्राकार, बुद्धिमान राई लगायतका स्थानीय समाजसेवीले शुभकामना दिएका थिए । जन्मदिनको अवसरमा फजुल खर्च नगरी आफ्नै जन्मभूमिमा सहयोग गर्ने कार्य प्रशंसनीय रहेको उनीहरुको भनाइ थियो । उर्मिलाले यसअघि पनि आफ्नो जन्मथलोमा वृद्धवृद्धाको सहयोग, ई-लाइब्रेरी स्थापना लगायत थुप्रै सहयोग गरेको उनीहरुले स्मरण गरे ।

राहत पाउनेहरुले विदेशमा रहेर पनि आफ्नो जन्मथलोमा समस्यामा परेका दाजुभाइ दिदीबहिनीलाई सम्झिएर आफ्नो जन्मदिन मनाएकोमा आभार प्रकट गरेका थिए ।

बेलायतबाट राहतको संयोजन गर्ने शिवजी श्रेष्ठले महामारीका बेला नेपालमा रोगसंगै भोकबाट मर्ने अवस्था उत्पन्न भएको भन्दै सक्दो सहयोग गर्नु संसारका सबै ठाउँमा छरिएका नेपालीको कर्तव्य रहने बताए । सामान्य समयमा जस्तो रेस्टुरेन्ट गएर पार्टी गर्नु वा महँगो उपहार खरिद गर्नु भन्दा समस्यामा परेकाहरुको सहयोग गर्नु नै उत्तम हुने ठानेर राहत वितरणको सोच बनाएको उनले सुनाए ।

राहत वितरण कार्यक्रम-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू