शुक्रबार, वैशाख ७, २०८१
01:15 | ०६:००

इंग्ल्याण्ड र वेल्समा अपराध घट्यो

लकडाउन खुकुलो भएसंगै चनाखो रहन प्रहरी अपिल

नेपाली लिङ्क जुन २०, २०२०


लन्डन । लकडाउन अझै कायम रहंदा इंग्ल्याण्ड र वेल्समा अपराध घटेका विवरण सार्वजनिक भएका छन् । इंग्ल्याण्ड र वेल्समा ४३ प्रहरी बलले गत वर्षको तुलनामा यही समय अपराधिक क्रियाकलापमा १८ प्रतिशत कमी आएको तथ्यांक दिएको हो ।

यसमा पछिल्लो चार सातायता ७ जुनसम्मको तथ्यांक छ ।

लकडाउनपछि तेश्रोपटकको अपडेट हो यो । इंग्ल्याण्ड र वेल्समा लकडाउनपछि चार साताको अवधिमा (१२ अप्रिलसम्म) २८ प्रतिशत अपराध कमी भएको थियो भने चार साताकै अवधि १० मेसम्म २५ प्रतिशतले न्यून भएको तथ्यांक छ । समग्रमा गत वर्ष सन् २०१९ को तुलनामा अहिले अपराध घटेको प्रहरी तथ्यांकले देखाएको छ ।

नेशनल पुलिस चिफ काउन्सिल अध्यक्ष मार्टिन हेवीटले सर्वसाधारणले कोरोना भाइरस फैलन नदिन लागू गरिएको लकडाउन नियम पालना गरेकाले अहिले अपराध घटेको प्रतिक्रिया दिएका छन् ।

मेट्रोपोलिटन प्रहरी कमिशनर क्रेसिडा डिकले तीनसाता यता करिब २८ प्रतिशत अपराधका घट्ना कमी भएको बताएकी छन् । महामारीका बेला बन्दुक र चक्कुजन्य अपराधमा कमी आएको उनको भनाइ छ ।

तर, प्रहरीले लकडाउन क्रमिक रुपले खुकुलो भएसंगै अपराधीहरुले मौका पर्खिरहेको बताउंदै सर्वसाधारणलाई सावधानी अपनाउन र चनाखो रहन अपिल गरेको छ । अब जनजीवन सामान्य बनिरहंदा कार्बन इमिसन, अपराध र वायू प्रदुषण फेरि बढ्ने विज्ञहरुको चिन्ता छ ।

आपतकालिन सेवाका लागि कार्यरत कामदारहरुमाथि आक्रमण भने गत वर्षभन्दा अहिले २४ प्रतिशत बढेका देखिएको छ । लकडाउन अवधिमा घरेलु हिंसा पनि बढेका पाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू