बिहीबार, वैशाख १३, २०८१
07:52 | १२:३७

बेलायतमा कोरोनाले ज्यान गुमाउने सबैभन्दा बढी जोखिममा दक्षिण एशियालीहरु

नेपाली लिङ्क जुन १९, २०२०

लन्डन । कोरोना संक्रमणका कारण बेलायतका विभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुमध्ये दक्षिण एशियाली समुदायका मानिसहरुमा मृत्युको सबैभन्दा बढी जोखिम देखिएको छ । 

बेलायतका विभिन्न विश्वविधालय तथा ‘पब्लिक हेल्थ’सम्बन्धी २७ वटा संस्थाहरु मिलेर गरेको संयुक्त अध्ययनले अन्य समुदायभन्दा दक्षिण एशियालीहरुमा बढी जोखिम रहेको देखाएको हो ।  

अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुले दक्षिण एशियालीहरुमा मधुमेहको समस्या बढी हुने कारण पनि कोरोना संक्रमण निको नभएर ज्यान गुमाउने खतरा बढी देखिएको बताएका छन् । 

कोरोना संक्रमणका कारण बेलायतका अस्पतालमा भर्ना भएका दक्षिण एशियालीहरुमध्ये ४० प्रतिशतमा टाइप १ वा टाइप २ मधुमेह पाइएको अध्ययनले देखाएको छ । 

बेलायतका विभिन्न २ सय ६० अस्पतालका तथ्यांक हेरेर यो अध्ययनको निष्कर्ष निकालिएको हो । सबै अस्पतालका कुल कोभिड संक्रमितमध्ये ४० प्रतिशतलाई अध्ययनमा समेटिएका कारण पनि यसको निष्कर्ष वास्तविकता नजिक र महत्वपूर्ण ठानिएको छ ।  

यो अध्ययनले कोरोना संक्रमण भएर अस्पतालमा भर्ना भइसकेका संक्रमितहरुमा रहेको मृत्युको जोखिमलाई देखाएको छ । तर कोरोना संक्रमणका लागि रहेको जोखिमबारे केहि बताएको छैन् ।   

अध्ययन अनुसार दक्षिण एशियालीहरुमा जस्तो मृत्युको उच्च जोखिम अश्वेत समुदायमा भने देखिएको छैन् ।  

बेलायतमा कोभिड संक्रमित भएर अस्पतालमा भर्ना भएका बेलायती श्वेत समुदायका मानिसहरुभन्दा दक्षिण एशियाली समुदायका मानिसको मृत्यु हुने सम्भावना २० प्रतिशत उच्च रहेको तथ्य अध्ययनले फेला पारेको छ । 

कोभिडका कारण बेलायती अस्पतालमा ज्यान गुमाउनेहरुको औसत उमेर पनि श्वेत समुदायको तुलनामा दक्षिण एशियालीहरुमा १२ वर्ष कम पाइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू