बिहीबार, वैशाख १३, २०८१
16:30 | २१:१५

इंग्ल्याण्डमा झण्डै तीन महिनापछि हाई स्ट्रिट स्टोरहरु खुले

नेपाली लिङ्क जुन १५, २०२०

लण्डन । इंग्ल्याण्डमा कोरोना भाइरस संक्रमण रोक्न लागू गरिएको लकडाउन सोमबारदेखि थप खुकुलो बनेको छ ।

गत मार्च २३ देखि कायम लकडाउनलाई चरणबद्ध रुपमा खोल्दै जाने सरकारको योजनाअनुरुप आजदेखि अत्यावश्यक सेवाबाहेकका व्यवसायहरु पनि सञ्चालनमा आएका छन् ।

लकडाउनका क्रममा केहि खाना, औषधि जस्ता अत्यावश्यक सामग्री बेच्ने पसल, कर्नर शप, सुपरमार्केट, बैंक लगायत खुला रहेका थिए । तर लकडाउन शुरु भएदेखि नै बन्द रहेका कपडा पसल, सपिङ मल, पुस्तक तथा खेलकुदका सामग्री बेच्ने पसल, इलेक्ट्रोनिक सामग्रीका पसल लगायतका व्यवसाय अब सञ्चालनमा आएका छन् ।

त्यसैगरी, फोटोग्राफी स्टुडियो, टेलरिङ शप, इन्डोर मार्केट लगायत पनि अब खुला हुनेछन् ।

सरकारले इंग्ल्याण्डभरका यस्ता रिटेल शप हरुलाई कोरोना भाइरस रोकथामका लागि आवश्यक सतर्कता कायम गरेर मात्रै खोल्न अनुमति दिएको छ । जसकारण यी सबै स्टोरहरुले आफ्ना कर्मचारीका साथै ग्राहकहरुको सुरक्षाको लागि समेत उपयुक्त व्यवस्था गरेको हुनुपर्नेछ ।

सरकारबाट ग्रीन सिग्नल पाएलगत्तै हाई स्ट्रिटका धेरै व्यवसाय अब सञ्चालनमा आएका छन् । देशैभर आफ्ना स्टोरहरु रहने ठूला चेन व्यवसायहरुमध्ये केहिले आफ्ना सबै स्टोर खुलाएका छन् भने कतिपयले सिमित स्टोर मात्रै खुला गरेका छन् ।

झण्डै तीन महिनाछि खुलेका हाई स्ट्रिटका केहि स्टोरहरुबाहिर बिहानैदेखि लाम लागेका ग्राहकहरु देखिएका छन् ।

अझै पनि रेष्टुरेन्ट, पब, क्याफे, हेयर ड्रेसर, सिनेमा लगायतका व्यवसायहरु भने सञ्चालन गरिएको छैन । कोरोना संक्रमणका केसहरु घट्ने क्रम निरन्तर रहेको अवस्थामा आउँदो जुलाई ४ मा यीमध्ये केहि व्यवसाय सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू