शनिबार, वैशाख १५, २०८१
01:37 | ०६:२२

एनएचएसलाई निशुल्क ख्वाउने नेपाली रेष्टुरेन्टलाई ‘क्वीन्स् अवार्ड’

नेपाली लिङ्क जुन १४, २०२०


लन्डन । कोभिड १९ महामारीका बेला बेलायतको स्वास्थ्य सेवा (एनएचएस) कर्मचारीलाई निशुल्क खाना ख्वाउने नेपाली रेष्टुरेन्टले क्वीन्स् अवार्ड पाएको छ ।

लुइसम लि हाइरोडस्थित पानस गोर्खा नामक रेष्टुरेन्टले स्वयंसेवाका लागि दिइने प्रतिष्ठित क्वीन्स् अवार्ड प्राप्त गरेको हो । उक्त रेष्टुरेन्टले महामारी बढिरहंदा अग्रपंक्तिमा खटिएका एनएचएस कर्मचारी र घरबिहीनलाई नियमित खाना, पानी र अन्य सामग्री उपलब्ध गराएको थियो ।

बेलायतमा लकडाउनसंगै गत मार्चमा रेष्टुरेन्ट बन्द गर्नुपर्ने भएपछि सञ्चालकले आमग्राहकलाई सेवा बन्द गरेर लुइसम अस्पतालमा कार्यरत एनएचएस स्टाफलाई निशुल्क खाना उपलब्ध गराएका थिए ।

रेष्टुरेन्ट सञ्चालक सुजन कटुवालले लकडाउनका बेला करिब ५ हजार बट्टा खाना, १५ सय पानीका बोटल, दुईवटा कमर्सियल फ्रिज, ८ हजार अल्कोहलयुक्त वाइप्स् लगायत निशुल्क प्रदान गरेका थिए । पानसले लुइसम अस्पतालमा कार्यरत कर्मचारीलाई इदको अवसरमा हरियो सागसब्जी समेत निशुल्क दिएको थियो ।

‘मलाई जुन समुदायले धेरै गरेको छ, त्यसलाई केही गर्नुपर्छ भन्ने लाग्यो’, कटुवालले भने, ‘लुइसम हस्पिटलमा आफ्नो ज्यान जोखिममा राखेर कोभिड १९ संक्रमितको उपचार गरिरहेकालाई खाना ख्वाउंदा उनीहरु कृतज्ञ छन् ।’ भविष्यमा पनि अति आवश्यक परेका समुदायलाई निशुल्क सेवा दिने प्रण कटुवालको छ ।

पानसले एनएचएसबाहेक उलवीच कमन कम्युनिटी सेन्टर र ग्रीनवीच एण्ड बेक्सली कम्युनिटी हस्पिसलाई पनि सेवा गरेको थियो । रोयल बरो अफ ग्रीनवीच काउन्सिल लिडर डान थोर्पले पानसको काम अद्भूत भन्दै प्रशंसा गरेका छन् ।

पानसको सामाजिक कामलाई बीबीसी, आइटिभी जस्ता मिडियाले ‘कभरेज’ गरेका छन् भने एनएचएसले आफ्नो वेवसाइटमा समेत उसको प्रशंसा गरेको छ । बेलायती महारानीले पानसको प्रशंसा गर्दै सञ्चालक कटुवाललाई व्यक्तिगत चिठी समेत पठाएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू