शुक्रबार, वैशाख ७, २०८१
11:23 | १६:०८

बेलायतमा दोश्रो संक्रमण फैलने चेतावनी

नेपाली लिङ्क जुन १४, २०२०

लन्डन । ब्रिटेनमा लकडाउन छिटो खुकुलो पारिएको भन्दै आलोचना भइरहंदा दोश्रो संक्रमण फैलने चेतावनी आएका छन् । बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरुले प्रधानमन्त्री बोरिस जोनसनलाई यो वर्ष जाडो याममा कोरोना भाइरसको दोश्रो वेभ आउन सक्ने खतरासंग जुध्न एउटा सार्वजनिक छानबिन गराउन आव्हान गरेका छन् ।

हालै २७ जना विशेषज्ञहरुले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न ब्रिटिश सरकारले अपनाएका कदमहरुमा कमजोरीका कारण कोभिड १९ बाट ज्यान गुमाउनेमा ब्रिटेन संसारमै दोश्रो स्थानमा पुगेको बताएका छन् ।

इंग्ल्याण्डमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस), पब्लिक हेल्थ र सामाजिक सुरक्षाको खण्डीकरण, केन्द्र सरकारले स्थानीय निकाय तथा ब्रिटेनका अन्य प्रदेशहरुसंग नजिक रहेर काम गर्न नसक्नु र समयमै आवश्यक वस्तु तथा सेवा किन्न नसक्नु मुख्य कमजोरी रहेको उनीहरुको निष्कर्ष छ । ‘आर’ भनेर चिनिने भाइरसको संक्रमण दर युकेको कुनै भागमा अर्को भागको भन्दा उच्च रहेको बताइएको छ ।

बेलायतमा कोरोना भाइरसका कारण करिब ४२ हजारको मृत्यु भइसकेको छ भने संक्रमण रोकिएको छैन् । हालसम्म संक्रमित संख्या करिब २ लाख ९५ हजार छ ।

लकडाउन खुकुलो र सामाजिक दूरीको निर्देशिका कार्यान्वयन नभए दोश्रो पटक संक्रमण झन् फैलिने चेतावनी इंग्ल्याण्डका चिफ मेडिकल अफिर क्रिस ह्वीटीको पनि छ ।

उता, सबै बालबालिकालाई विद्यालय पठाउने र अभिभावकलाई काममा फर्कन दिने हो भने दोश्रो संक्रमण फैलने चेतावनी अनुसन्धाताहरुले दिएका छन् ।

युसिएल र लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन समूहले परीक्षण र ट्रेसिङको दायरा बढाए त्यसले दोश्रो संक्रमण रोक्न सक्ने बताएको हो ।

बेलायत सरकारले लकडाउन पुनः लागू नगर्ने हो भने डिसेम्बरतिर अहिलेको भन्दा दोब्बर खतरा हुने उनीहरुको चेतावनी छ ।

जाडो मौसममा युरोपेली मुलुकहरु कोरोना भाइरसको दोश्रो खतराबाट प्रभावित हुने चेतावनी समेत दिइएको छ । विश्व स्वास्थ्य संगठन आवद्ध युरोपका एक वरिष्ठ अधिकारीले महामारी नियन्त्रण भइनसकेकाले दोश्रो पटक झन् खतरनाक संक्रमण हुने चेतावनी दिएका हुन् ।

बेलायती अखबार दि टेलिग्राफलाई विशेष अन्तरवार्ता दिंदै विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रका निर्देशक डा. हयान्स क्लुजले लकडाउन खुकुलो पार्दै लगेका मुलुकलाई यो समय तयारीको हो खुशीयालीको होइन भनेका छन् ।

डा. क्ल सुजले बेलायत, फ्रान्स, इटाली जस्ता मुलुकमा कोभिड १९ संक्रमण घट्न शुरु गरेपनि महामारी नियन्त्रण भइनसकेकोमा जोड दिए ।

युरोपमा अहिले संक्रमण बढिरहेका रुस, युक्रेन, बेलारुस, कजाकस्तान जस्ता देश कोभिडको इपिसेन्टर बनिरहेका पनि उनले बताएका छन् ।

सन् १९१८ मा लाखौंको ज्यान लिएको स्पेनिस फलु र सन् १९५७ देखि ५८ को एसियन फ्लु पनि दोश्रो पटक झन् खतरनाक रुपमा फैलिएको अध्ययनले देखाउंछ ।

दक्षिण कोरिया, चीन र सिंगापुरमा पनि कोभिड १९ को दोश्रो वेभ आएको थियो । गत मार्चमा चीनले संक्रमणका नयां केस नभएको घोषणा गरे लगत्तै पछि ३४ जनामा केस देखिएको थियो भने सिंगापुरमा ४७ नयां केस भेटिएका थिए ।

बेलायतले २३ मार्चदेखि लागू भएको लकडाउन ७० दिनपछि गत १ जुनबाट थप खुकुलो बनाएको छ । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन लागू गरेको लकडाउन चरणवद्ध खुकुलो 
गर्ने योजना अनुरुप जुन १ बाट प्राथमिक विद्यालय खोल्ने एवं बढिमा ६ जनासम्म भेट्न पाउने घोषणा गरेको हो । एक्लै बस्दै आएका मानिसहरुले अर्को घरमा बस्ने एकजनासंग दुई मिटरको दूरीबिना नै भेट्न र एकै ठाउंमा रात बिताउन पनि सक्ने छन् । आउंदो जुन १५ देखि लकडाउन थप खुकुलो भइ नन इसेन्सियल पसल समेत खुल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू