शुक्रबार, वैशाख १४, २०८१
04:57 | ०९:४२

आजबाट कानूनी रुपमा अनिश्चितकालिन मिलन

नेपाली लिङ्क जुन १३, २०२०

हामी नेपालीबीच निकै लोकप्रिय एउटा भनाइ छ, ‘मेड इन चाइना, आज छ भोलि छैन’ । वास्तवमा चीनबाट शुरु भएको कोरोना भाइरस ( कोभिड १९) ले यस भनाइलाई कता कता सार्थकता दिलाएको छ । मानव जीवन नै धारासायी बन्न पुगेको छ, जीवन जिउने कुरामा सबैलाई अन्यौल छ । कयौं इच्छा आकांक्षा बोकेका मानिसका सपनाहरु चकनाचुर भएका छन्, कैयौंका काख रित्तिएका छन्, कैयौंका साथहरु छुट्टीएका छन् अनि मनमा पीडा र आँखामा आँशु लिएर बाँच्न बाध्य बनाएको छ सदा सदाका लागि ।

जीवन जिउने चाहनाहरु हाम्रा मानसपटलबाट विलिन भैसकेका छन् । मानव जीवन अवश्यम्भावी भएपनि मानिसहरुले मृत्युसंग लड्ने हिम्मत राख्दथे । जस्तोसुकै रोग लागेपनि केहि वर्ष धकेल्न सक्छु भन्ने सबैमा जोश, जाँगर र अटल विश्वास थियो । तर कोरोना भाइरसले गर्दा ति सबै आत्मबल ह्रास भएका छन्, जुनसुकै बेला जे पनि हुन् सक्छ भन्ने निष्कर्षमा पुग्न बाध्य बनाएको छ । सानो ठूलो अनि धनी गरिवको तराजुमा जोख्ने हाम्रा मष्तिस्कहरु निष्क्रिय बनेका छन् । मानवीय गुण र मानवता भएका जो कोहिलाई पनि भेदभाव र घमण्डबाट अलग बस्न पाठ सिकाएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले कोरोना प्रभावित प्राय सबै मुलुकहरुले लकडाउन सामना गर्न बाध्य हुनुपर्यो । लकडाउनका कारण आफन्त इष्टमित्र सबैबाट टाढा बस्न बाध्य बनायो । कोरोनाको बढ्दो संक्रमण, सामाजिक दुरी र लकडाउनका कारण प्रेमी प्रेमीबीचको मिलन फेरी हुने हो कि हैन अनिश्चित नै रह्यो । बेलायतमा भोगिएको लकडाउनले सबै मनका इच्छा, आकांक्षा, चाहना र रहरहरुलाई कैद बनाउन बाध्य बनाएको छ । नौ हप्ता लामो लकडाउनलाई सहजीकरण गर्दै पहिलो चरणमा पार्क तथा गार्डेनमा दूई मिटरको दुरी कायम राखेर बढीमा छ जनासम्म भेटघाट गर्ने वातावरणसम्म मिल्यो तर अन्यत्र घरभित्र बस्न र रात बिताउन प्रतिबन्ध नै थियो ।

यत्तिकैमा बेलायतमा अर्को एउटा नयाँ नियम लागू गरियो जस अनुसार एकाघरका बाहेक अर्को घरमा गएर आफ्नो प्रेमी प्रेमिका वा जोसंग भएपनि शारीरिक (यौन) सम्पर्क गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइयो । यो नयाँ नियमले बेलायतका थुप्रै व्यक्तिहरु प्रभावित बने । यौन व्यवसायमा संलग्न हुनेहरुले त आफूहरुलाई सरकारले कुनै राहत प्याकेज समेत उपलब्ध नगराएको भन्दै बाध्य भएर ज्यान जोखिममा राखेर कोरोनाको संक्रमण फैल्याउन बाध्य भएको समेत भन्न भ्याएका थिए ।

महिनौं लामो लकडाउनको अनुभव पश्चात लकडाउनलाई सहज गर्दै लगिएका कारण अस्थायी रुपमा भएपनि मन भित्रका चाहनाहरु अंकुरित हुन् थालेका छन्, भोलिको लागि हैन आजको लागि रमाएर बाँच्ने सबैको इच्छा जागेको छ । इंग्ल्याण्डमा लकडाउनको दशौँ हप्ता बितिसक्दा यहाँका जनताहरु पनि मृत्युसंग डराउन छाडिसकेका छन् । जुन १ तारिखबाट लकडाउन केहि सहज पार्ने सरकारको घोषणा हुनासाथ तोकिएको मितिसम्म कुर्न सकेननन् बेलायतवासीले । जुन १ तारिख आउनु दुई दिनअघिदेखि नै लकडाउन व्यापक उलंघन गरिए । बढीमा छ जनासम्म आउटडोरमा भेट्न पाउने लकडाउनको सहजीकरणलाई लत्याउंदै अमेरिकामा हत्या गरिएका जर्ज फ्लोयडको विरोधमा सयौं मानिस प्रदर्शनमा उत्रिए ।

आउँदो जुन १५ बाट लकडाउनको स्वरूपमा निकै परिवर्तन गरिने घोषणा भैसकेको छ । प्राय सबै रिटेल पसलहरु खुल्ने भएका छन् । बुधबारको दैनिक कोरोना ब्रिफिङमा प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनलाई क्रमिक रुपमा लचक बनाउँदै लैजाने बताएका छन् । जसअनुसार निश्चित मापदण्डको परिधिभित्र रहेर आज शनिबारदेखि एक्लै बस्दै आएकाले पनि अर्को घरमा बस्नेहरुसंग भेट्ने र रात बिताउन मौका पाउने भएका छन् । उनीहरुको लागि सामाजिक दुरीको नियम पालना गर्न आवश्यक छैन ।

सरकारको यस निर्णयसंगै एक्लै बस्दै आएका धेरै मानिसहरुलाई एक्लोपनबाट मुक्ति मिल्ने छ । लामो समयदेखि अलग भएर एक्लो जीवन बिताइरहेकाको लागि शनिबारबाट पुनर्मिलन भएको छ । 

कोरोनाका कारण एकदिनमा झन्डै हजार जनासम्मले ज्यान गुमाउँदा धेरैले बाँच्ने आशा मारिसकेका थिए र अझै पनि आशंकाकै घेरामा बस्न बाध्य छन् । करिब तीन महिना अवधिभित्र बेलायतमा ४० हजार भन्दा बढी मानिसको ज्यान गैसकेको छ । एकआपसमा भेटघाट हुने सम्भावनालाई समेत आश मारिसकेकाहरुले आजबाट पुनर्जीवन पाएको महशुस गरेका छन् । अझै पनि कोरोनाको त्रास नटुंगिएको हुँदा भविष्य अनिश्चित नै छ ।

तैपनि अनिश्चितकालीन जीवनमा भएको यो परिस्थिति विल्कुलै नयाँ हुनेछ, जिन्दगीको नयाँ आयाम शुरु भएको महशुस हुनेछ अनि भविष्य भन्दा बर्तमानमा रमाउने हाम्रो प्रयास हुनेछ । अनिश्चित भविष्यका बावजुद पनि लामो लकडाउनपश्चात कानूनी रुपमा हाम्रो अनिश्चितकालिन भेट हुदैछ । एकैछिन मृत्यु बिर्सिएर वर्तमानलाई नै संसार ठानेर बाँकी जीवनका अनुभूतिहरुमा रमाउने प्रयास गर्नेछौं ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू