शुक्रबार, चैत १६, २०८०
15:56 | २१:४१

लकडाउनले बन्द यूकेका भिसा आवेदन केन्द्रहरु पुनः सञ्चालन

नेपाली लिङ्क जुन १३, २०२०

फाइल तस्विर

लण्डन । कोरोना भाइरस संक्रमण रोक्ने प्रयासमा लागू भएको लकडाउनका कारण बन्द बेलायतका भिसा आवेदन तथा प्रोसेसिङ केन्द्रहरु सञ्चालनमा आएका छन् ।

बेलायतभित्र रहेका विभिन्न १३ वटा यूकेभिकास (यूके भिसा सिटिजनसिप एप्लिकेसन सर्भिस) केन्द्रहरु गत सोमबारदेखि सञ्चालनमा आएका छन् ।

लण्डनभित्रका चार, बर्मिङहम र म्यान्चेस्टरका दुई दुई तथा सेफिल्ड, साउथह्याम्पटन, लिड्स, चेम्सफोर्ड, एक्जिटरका एकएक केन्द्र सञ्चालनमा आएका हुन् । बेलायतभर रहेका कुल ५७ वटा सेन्टरमध्ये बाँकी अझै बन्द छन् ।

यूकेभिआई( यूके भिसा इण्ड इमिग्रेसन) ले लकडाउनपछि बन्द रहेका आफ्ना सेवा केन्द्रहरु जुनको शुरुदेखि क्रमिक रुपमा खुलाउने योजनाअन्तर्गत केहि केन्द्र सञ्चालनमा ल्याइएको जनाएको छ । तर पुनः सञ्चालनमा आएका केन्द्रहरुबाट पनि सिमित सेवाहरु मात्र प्रदान गरिने बताइएको छ ।

यी केन्द्रहरुले अहिले तत्कालको लागि नयाँ अपोइन्टमेन्टहरु उपलब्ध गराउने छैनन् । लकडाउनअघि बन्द हुनुपूर्व अपोइन्टमेन्ट बुक गरिसकेका आवेदकहरुले मात्रै अहिले पुन अपोइन्टमेन्ट बुक गरेर आवेदन गर्न पाउनेछन् । उनीहरुले कसरी आवेदन गर्न सक्छन् भन्ने जानकारी यूकेभिआईले इमेलमार्फत पठाउने बताएको छ ।

त्यसैगरी, हाल सञ्चालन भएका केन्द्रहरुले आवेदकलाई प्रिमियम, सुपर प्रिमियम, भिआइपी लगायतका विशेष सुविधाहरुको विकल्प पनि उपलब्ध गराएका छैनन् ।

बेलायतमा मार्च २३ बाट शुरु भएको लकडाउन केहि खुकुलो गराइएपनि अझै कायम छ । जसकारण भिसा अवधि सकिएका धेरै विदेशीहरु बेलायतमै अड्किएका छन् । बेलायतमा बस्दै आएका थुप्रै विदेशी पनि भिसा आवेदन गर्नुपर्ने अवस्थामा छन् ।

महामारीको अत्यावश्यक अवस्थालाई ध्यानमा राख्दै सरकारले यसबीचमा भिसा सकिने सबैको लागि जुलाई अन्त्यसम्म भिसा म्याद थप गरिदिएको छ ।

गत जुन ८ देखि अन्य मुलुकबाट बेलायत भित्रिने सबैको लागि १४ दिने अनिवार्य क्वारेन्टिनको नियम समेत कार्यान्वयनमा ल्याइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू